पर्यावरण संरक्षण नेपाल जस्तो अल्पविकसित देशको लागि महत्वपूर्ण हुन्छ’

बिहीबार, मंसिर २५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित देश नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको बताएका छन् । बिहिबार २३औँ विश्व पर्वत दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ भएको भन्दै अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम रहेको बताए । उनले भने, ‘यस वर्षको विषयवस्तु “हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व राख्छन्” ले जलवायु सङ्कटको गम्भीरता झनै प्रस्ट पारेको छ । ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा छ । हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ हो । अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो, जुन जलवायु न्यायको प्रश्नसँग गाँसिएको छ ।’ यस्तै, उनले पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न नसकिने भन्दै पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आएको बताए । उनले भने, ‘पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आएको छ । पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न सकिँदैन भन्ने हाम्रो आवाज स्पष्ट राख्दै आएका छौं । अल्पविकसित राष्ट्रहरूको चासोलाई प्राथमिकतामा राख्नु आजको अनिवार्य आवश्यकता हो ।’ विश्व पर्वत दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि सबैलाई नयाँ ऊर्जा र सङ्कल्प प्रदान गर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार