उन्नत ड्रोन प्रविधि कार्यशालामा चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता

आइतबार, मंसिर २१, २०८२

काठमाडौं । नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको सहकार्यमा धुलिखेलमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको छ । कार्यशाला मंसिर २५ गते (डिसेम्बर १०) आयोजना हुँदैछ । कार्यशालामा चीनका प्रतिष्ठित उड्डयन तालिम संस्थामध्येको GCAC का उच्च तहका विज्ञहरूको टोली सहभागी हुनेछ । 
टोलीमा विमान मर्मत इन्जिनियरिङ स्कुलका डिन टियान जु, यूएभी स्कुलका उपडिन हे यानबिन, १४७ ट्रेनिङ स्कुलका निर्देशक बाइ जियानकुन, उपनिर्देशक यान झीयुआन, यूएभी स्कुलका प्रशिक्षक नी वेइगुओ तथा विदेशी मामिला संयोजक लिन वेइच्याङ रहेका छन् ।  उनीहरूको सहभागिताले नेपाल–चीनबीच ड्रोन र उड्डयन प्रविधिमा बढ्दो शैक्षिक तथा प्राविधिक सहकार्यलाई झल्काएको छ । कार्यक्रमको सुरुआत टीएससिएमद्वारा आरसी (रिमोट कन्ट्रोल) विमान प्रदर्शनबाट हुनेछ । विद्यार्थीहरूको नवप्रवर्तन क्षमता र एयरोमोडेलिङ सीप प्रस्तुत गर्ने यस प्रदर्शनपछि उन्नत यूएभी प्रणालीसम्बन्धी प्राविधिक सत्र सुरु हुनेछ । GCACले सञ्चालन गर्ने प्राविधिक कार्यक्रममा पहिलो चरणमा कलेजको परिचयात्मक भिडियो प्रस्तुत गरिनेछ । सहभागीहरूले चिनियाँ प्रशिक्षकको प्रत्यक्ष निर्देशनमा ड्रोन उडान अभ्यास गर्ने अवसर पनि पाउनेछन्। अन्त्यमा चीनको यूएभी इकोसिस्टम, तालिम मापदण्ड, नियामक अभ्यास, औद्योगिक उपयोग र भविष्यका सम्भावनाबारे विस्तृत व्याख्यान हुनेछ । कार्यक्रमको नेतृत्व ड्रोन हब नेपालका प्रबन्ध निर्देशक तथा आयोजक प्रबिन भट्टराईले गरिरहेका छन् ।  प्राविधिक तथा कार्यक्रम समन्वय अफताब आलमले सम्हालिरहेका छन् भने सञ्चार तथा सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह छन् । रसिदव राजले लजिस्टिक्सको जिम्मेवारी सम्हालेका छन् । जीक्यासि कार्यक्रमको समग्र परियोजना नेतृत्व सुजित चौधरीले गरिरहेका छन् भने दीपिका केसी परियोजना सह–नेतृत्व तथा मिडिया लिडको भूमिकामा छिन् । इण्टर्न टोलीले दर्ता, मिडिया सामग्री र स्वयंसेवक व्यवस्थापन गर्नेछ । नेपाल भ्रमणकै क्रममा GCAC टोलीले काठमाडौँ र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको अवलोकन भ्रमण पनि गर्नेछ । ती भ्रमणमार्फत विपद् व्यवस्थापन, उद्धार, खोज तथा अग्नि नियन्त्रणमा ड्रोनको प्रयोग सम्भावनाबारे अनुभव आदान–प्रदान गरिनेछ । ड्रोन हब नेपालका अनुसार कार्यशालाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय ज्ञान आदान–प्रदानमार्फत नेपालकै यूएभी इकोसिस्टम सुदृढ गर्नु, युवा इन्जिनियरलाई प्रेरित गर्नु तथा विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण, नक्साङ्कन र विकास परियोजनामा जिम्मेवार ड्रोन प्रयोग प्रवद्र्धन गर्नु हो । अन्तर्राष्ट्रिय विज्ञ, प्रत्यक्ष अभ्यास र विद्यार्थी–केन्द्रित नवप्रवर्तन प्रदर्शनसहित यो कार्यक्रम नेपालका लागि ड्रोन तथा उड्डयन प्रविधिको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार