प्रधानमन्त्री देउवालाई विश्वासको मत 

पक्षमा १६५ मत विपक्षमा ८३ 
आइतबार, साउन ३, २०७८


प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै पुनस्र्थापित प्रतिनिधिसभाले बाँकी कार्याकाल पूरा गर्ने 


काठमाडौँ । सर्वाेच्च अदालतको आदेशानुसार पुनःस्थापित संघीय संसद् प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । 
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी  प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रस्ताव पेश गरेका थिए । विश्वासको मतको पक्षमा १६५ परेको छ । विपक्षीमा ८३ मत परेको छ । 
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीका उपेन्द्र–ठाकुर पक्षधार सांसद् तथा जनमोर्चा नेपालका सांसदले मत दिएका थिए । विश्वासको मतको विपक्षमा नेकपा एमालेको ओली समूहका सांसद उभिएका थिए । 
संसद्को अङ्क गणित 
प्रतिनिधिसभामा २३९ उपस्थित थिए । प्रतिनिधिसभामा नेपाली कांग्रेसको कुल ६३ मध्ये २ जना सांसद निलम्बित भएकाले उक्त दलसँग ६१ मत छ । एक जना स्वतन्त्र सांसद र माओवादी केन्द्रको तर्फबाट देउवाले ४९ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समूहबाट मत पाए । 
अघिल्लो साता सर्वाेच्च अदालतले सुनाएको आदेश अनुसार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्विप लाग्दैन र कुनै पनि दलले आफ्ना सांसदलाई कारबाही गर्न नपाइने उल्लेख थियो । 
एमालेका १ सय २१ सांसदमध्ये २६ जनाले देउवालाई भावी प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको प्रस्तावमा हस्ताक्षर गरेका थिए । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा दायर गरिएको रिट निवेदनमा हस्ताक्षर गर्ने एमाले सांसदहरूको संख्या २३ थियो । जनता समाजवादी पार्टीका ३४ सांसदमध्ये दुईजना निलम्बनमा रहेपनि उक्त दलमा सांसदहरू नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले नेतृत्व गरेको समूहमा विभाजित भए । 
प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक जना सांसद छन् । राष्ट्रिय जनमोर्चाले देउवालाई मत दिएको छ । 
देउवाले विश्वासको मत प्राप्त गरेपछि प्रतिनिधि सभा आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने मार्गमा उन्मुख भएको छ ।  देउवाले विश्वासको मत प्राप्त गर्न नसकेको भए प्रतिनिधिसभा विघटन हुँदै आम चुनावको बाटोमा अग्रसर हुने थियो ।  

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार