सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरूले कुनै वक्यौता बाँकी नरहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन् । उद्योगमा खपत भएको विद्युत्बापतको रकम नेपाल विद्युत् प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेको उद्योगीले शुक्रबार बताएका हुन् । ‘मुलुकलाई औद्योगिक रूपमा आत्मनिर्भर बनाई रोजगारी र राजश्वमा समेत उल्लेख्य अवसर र योगदान पुर्याउने उद्देश्यले स्थापित हाम्रो उद्योगले हजारौं नेपाली नागरिकलाई रोजगारी प्रदान गरी अरवौं रकम राजश्व दाखिला गर्दै आइरहेको र नेविप्राको विद्युत् उपभोग गरेबापत मासिक करोडौं रकम विद्युत् महसुलबापत नियमित तिर्दै बुझाउँदै आइरहेको छौं,’ पत्रमा उल्लेख छ । पत्रमा थप भनिएको छ, ‘हाम्रो उद्योगमा खपत भएको विद्युत्बापतको प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेका छौं । अब कुनै बक्यौता राखेका छैनौं ।’ यसरी प्रधानमन्त्रीलाई पत्र लेख्ने उद्योगमा जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक, निगाले सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल्स, त्रिवेणी स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अशोक स्टिल, मारुती सिमेन्ट, अर्घाखाँची सिमेन्ट, हुलास स्टिल, शिवम् सिमेन्ट, हामा आइरन, कसमस सिमेन्ट, घराना फुड्स, गोयन्का फुड्स, एभरेस्ट रोलिङ, एसआर फुड्स, एसआर स्टिल, सिद्धार्थ पेट, श्याम प्लास्टिक, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक र भलबारी चामल उद्योग छन् ।