हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको नाम

नेपाली विद्यार्थी विपिन जोशी भने सूचीमा छैनन
सोमबार, असोज २७, २०८२

काठमाडौं । हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । ती बन्धकहरूलाई आज रिहा गर्ने तयारी गरिएको छ । बन्धक रिहाई कार्यक्रममा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व जाने तयारीमा छन् । हमासले सार्वजनिक गरेको सूचीमा २० जना बन्धक समावेश छन् । ती नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो ।

विपिन जीवित छैनन् : राजदूत 
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन् । राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन् । उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताए । ‘हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,ु राजदूत पण्डितले भने, ‘त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठूलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो ।’ पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। उनले भने, ‘हामी घटनाका सबै विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं ।’ विद्यार्थी भिसामा इजरायल गएका विपिन जोशी हमासको आक्रमणका बेला किबुत्ज अलुमिमबाट सम्पर्कविहीन भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार