सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ । प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी ऊर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले खुला भएको हो । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत् नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजना २४ महिनाभित्र उत्पादनमा आउनुपर्ने प्रावधान छ । प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्दै २२० केभी, १३२ केभी र ३३ केभी प्रसारणलाइन नजिकका आयोजनाबाट विद्युत् खरिद गर्नेछ । सोलार परियोजनामा लगानी लागत पनि घट्दै गएको छ । केही वर्षअघि प्रतिमेगावाट २० करोड पर्ने लागत अहिले प्रविधि सस्तो भएका कारण औसत ५ करोड रुपैयाँमा झरेको छ । ऊर्जा सुरक्षाका लागि प्राधिकरणले सोलारमा ध्यान दिँदै विद्युत् व्यवस्थापनलाई सहज बनाउन थालेको बताएको छ ।