पहिलो गोली खाने जेनजी विमलको परिवारको माग, ‘शहिद घोषणा गरियोस्’

शनिबार, भदौ २८, २०८२

काठमाडौं । गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षिय बिमलबाबु भट्ट संसद् भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् । उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् ।  उनी कहिल्यै घर फर्किदैँन् भन्ने परिवारले कल्पना समेत गरेको थिएन् । बिमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन् । एउटा टिकटक भिडियोमा आफ्नो दाईलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा बहिनीले भनिन्, ‘दाईलाई गोली लागेको थाहा पनि थिएन् । एक जना दिदीले पहिलो गोली लाग्ने जेनजी भनेर टिकटकमा भिडियो राख्नु भएको रहेछ । त्यहीबाट थाहा पाएर म अस्पतालसम्म पुगेको हुँ ।’ साथै, उनले आफ्नो दाईले ढुङ्गा पनि नहानेको साइडमा बसेको अवस्थामा पनि गोली हानेको भन्दै खुट्टा तिर गोली हानेको भए बाच्ने मेरो दाईलाई छातिमा नै गोली हानेर मारेको पनि उनको दाबी रहेको छ । विमल आफू आन्दोलनमा गए पनि ढुंगामुढा गर्न उत्रिएका थिएनन् । आन्दोलनमा नारा लगाइरहेका थिए तर छातीमै गोली बर्षाइएको बहिनीले सुनाइन् ।  ‘मेरो दाईको हातमा ढुङ्गा पनि थिएन् । साइडमा बसेको थियो रे । साइडमा बसेको मान्छेको छातीमा गोली हानियो । उनीहरूले खुट्टातिर पनि गोली हान्न सक्थे तर छातीमै बर्षाए । खुट्टामा लागेको भए मेरो दाई ज्यूँदै हुन्थ्यो कि’ उनले भनिन् । ‘दाईको मृत्युका बारेमा अहिलेसम्म सरकारको तर्फबाट केही अभिव्यक्ति आएको छैन । सरकारले गर्ने कामहरू पूरा गर्छहोला भन्ने आशामा छौं,’ उनी आशावादी छिन् ।  बिमल परिवारको तीन छोरा मध्ये कान्छो थिए । घरमा सबैको प्यारो थिए । आमा मानसिक रोगको बिरामी हुुँदापनि बुबाले खेतीकिसानी गरेर काबिल बनाएका छोरा थिए । अब उनका बुबाले शव कसरी हेर्लान र उठाउलान ? सरकारी पक्षबाट गोली लागेर मृत्यु भएका बिमलको शवलाई पोस्टमाटम गरेर टुक्रा टुक्रा पार्ने पक्षमा आफूहरू नरहेको भाउजु गोमा भट्टको भनाइ छ । उनले भनिन्, ‘पोस्टमार्टम गर्ने पक्षमा हामी छैनौ । किनभने सरकारी पक्षबाट गोली हानेर उहाँको हत्या भएको छ । मरिसकेको मान्छेलाई किन टुक्रा टुक्रा पार्ने ? त्यस्तो शव आमाबाबुले कसरी हेर्ने ? ६ दिन वितिसक्दा पनि आमालाई छोराको मृत्यु भएको कुरा थाहा छैन् ।’
मृत्यु भएको ६ दिन बित्दा पनि शव हेर्न नपाएको भन्दै उनलाई शहिद घोषणा गरेर उचित क्षतिपूर्ति दिनुपर्ने उनले माग राखेकी छिन् ।  ‘जेनजीको आन्दोलनमा सबैभन्दा पहिला गोली खाने युवा हो । हामीले अहिलेसम्म पनि हेर्न पाएका थिएनौं, भर्खरै देख्न पायौं । केही भन्नु छैन् । मात्र शहिद घोषणा हुनुपर्छ र उचित क्षतिपूर्ति पाउनुपर्छ । गोली हान्ने अपराधीलाई पनि सजाय हुनुपर्छ ।’ मामाको घरबाट निस्किनुअघि विमलले खुलेरै भनेका थिए, ‘म जेनजी आन्दोलनमा जान लागेको भन्दा मामाले सम्झाएका थिए, ‘नजाऊ भान्जा, त्यहाँ गएर केही हुन्न ।’ बिमलले भने, ‘हामी नगए, को जान्छ ? हामीले देश नबनाए अब कसले बनाउँछ ?’ 
बिमलको तस्बिर सामाजिक सञ्जालबाट साभार गरिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार