सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन् । यस विषयमा निर्णय लिन अहिले रास्वपा संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ । बैठक स्थलमै रहेका एक जना सांसदले सबै सांसदहरूले सामूहिक राजीनामा दिने विषयमा छलफल भइरहेको जानकारी दिए । कुरा त्यतै तिर गइरहेको छ उनले शब्दपाटीसँग भने, हामी सामूहिक राजीनामा दिन्छौ । जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेपछि रास्वपाकाह सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गर्न लागेका हुन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । तीमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् । जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ । रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो । मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् ।