सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । काठमाडौं प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम साढे ८ बजे देखि अनिश्चिकालीन कर्फ्यु आदेश जारी गरेका हुन् । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुनेछ समेत सूचनामा उल्लेख छ । ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु ललितपुरमा स्थानीय प्रशासनले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कर्फ्युआदेश जारी गरेका छन् । कर्फ्यु आदेशअनुसार तोकिएको सिमाना भित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यी हुन् कर्फ्यु आदेश जारी भएका क्षेत्रहरु भैँसेपाटी क्षेत्र महानगर वडा नं ४, १८ र २५ पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म । सानेपा क्षेत्र वडा नं २० : पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म । च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।
भक्तपुरमा पनि लाग्यो कर्फ्यु जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ८ः३० बजेदेखि अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरिएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्र :
– जडीबुटी –राधेराधे–बालकोट निकोसेरा, पेप्सीकोला क्षेत्र – जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म (२०० मिटर वरपर), पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म, – कौशल्टारदेखि बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म – राधेराधेचोकदेखि निकोसेरा चोकसम्म – बाखाबजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म – सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म – च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सीमानासम्म) – दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र – देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म