सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जी पुस्ताले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

सोमबार, भदौ २३, २०८२

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जी पुस्ताले आज देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । जेन जी पुस्ताको विरोध डिजिटल हुँदै आजबाट सडकसम्म पुग्दैछ । जेन–जीले सोमबार काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै छन् । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेपछि यो पुस्ता सडकमा ओर्लेको हो । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि निवेदन दिएको छ । 
संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन हुन लागेको हो । ‘हामीले प्रदर्शनको नेतृत्व लिएका छौं । सोमबार ९ देखि ११ बजे सम्म भेला हुने सल्लाह भएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दै छौं । त्यसपछिका कार्यक्रम सोमबार नै तय हुन्छ ।’ उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन हुनेछन् । उनीहरूले प्रदर्शन कहाँबाट सुरु गर्ने, कसरी सुरक्षित हुनेलगायतका टिप्सहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेका छन् । विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन पनि संस्थाले आह्वान गरेको छ ।

किन आन्दोलित भए जेन–जी ?

सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्ता हुन्, ‘जेन–जी’ । यो पुस्ताले केही समययता टिकटक र रेडिटलगायत सामाजिक सञ्जालका प्लाटफर्ममा राजनीतिक तथा प्रभावशाली व्यक्तिहरूको सन्तानको जीवनशैलीलाई लिएर प्रश्न गरिरहेका छन् । भिडियो बनाउनेहरूले राजनीतिक र प्रभावशाली व्यक्तिको सन्तानलाई ‘नेपोकिड’ र ‘नेपोबेबी’ को उपनाम दिएका छन् । उनीहरूले एकातर्फ दुःख पाएका जनताको तस्बिर र अर्कोतर्फ राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरूको आलिसान जीवनशैली राखेर आलोचना गरिरहेका छन् ।
यो ट्रेन्डको समर्थनसँगै उत्तिकै आलोचना पनि भएको छ । कतिपय प्रयोगकर्ताले यो ‘ट्रेन्ड’ ले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै विरोध गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘अभिभावकले गरेको गल्तीको सजाय सन्तानलाई दिन हुँदैन । सक्छौ भने भ्रष्टाचार गर्नेलाई लखेट, उनीहरूको सन्तानलाई होइन ।’
यही ‘ट्रेन्ड’ मार्फत सरकारको आलोचना गरिरहेका बेला सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो । जसले आक्रोशित जेन–जी सडकमा उत्रिने भएका हुन् । ‘हामी सामान्य रूपमा सामाजिक सञ्जालमा सरकारको आलोचना गर्दै थियौं तर सरकारको यो कदमले हाम्रो अभिव्यक्ति कुण्ठित गर्दै छ भन्ने महसुस भएपछि सडक आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’ प्रदर्शन नेतृत्वको टिममा रहेका अंकित मल्लले भने ।

के हो ‘नेपो किड ट्रेन्ड’ ?

‘नेपो किड’ वा ‘नेपो बेबी’ शब्द विश्वव्यापी रूपमा प्रचलित छ । यो अंग्रेजी शब्द ‘नेपोटिजम’ बाट उत्पत्ति भएको हो, जसको अर्थ पारिवारिक पहुँच वा नातावादका आधारमा प्राप्त अवसर भन्ने बुझिन्छ । यो शब्द बढी चलचित्र क्षेत्रमा प्रयोग भएको पाइन्छ । हलिउडदेखि बलिउडसम्म फिल्म स्टारका छोराछोरीलाई प्रतिभाभन्दा पनि पारिवारिक सम्बन्धका कारण सजिलै अवसर पाएको भन्दै यो शब्द प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय यो शब्द राजनीतिक मुद्दामा पनि प्रयोग हुन थालेको छ ।

विशेषाधिकार पाएका व्यक्तिहरूको सन्तानले सामान्य करदाताको पैसामा ‘मनोमानी’ गरेको आरोप लगाउने प्रचलन पछिल्लो समय बढ्दो छ । त्यसैको सिको गर्दै नेपालमा पनि राजनीतिक परिवारका सन्तानलाई लक्ष्य गरेर यो ट्रेन्ड फैलिएको हो । सामाजिक सञ्जाल ‘रेडिट’ मा एक प्रयोगकर्ताले लेखेका छन्, ‘राजनीतिक परिवारका छोराछोरीलाई सामाजिक सञ्जालमा देख्दा लाग्छ, करदाताको पैसामा उनीहरूले महँगा गाडी, विदेशमा शिक्षा र विलासी जीवन पाएका छन् । जबकि सामान्य युवाले रोजगारीकै लागि विदेश जानुपरेको छ ।’

कलाकारदेखि राजनीतिज्ञसम्मको समर्थन

यो प्रदर्शनलाई विभिन्न कलाकार र राजनीतिज्ञले समर्थन जनाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि प्रदर्शनको पक्षमा समर्थन जनाएका छन् । प्रदर्शनमा सहभागी हुन नपाए पनि आफ्नो समर्थन रहेको शाहले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘भोलि (सोमबार) को र्‍याली स्पष्ट स्वस्फूर्त रूपमा जेन–जीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बूढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीका कारण जान मिल्दैन तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’

त्यस्तै पूर्वशिक्षामन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठले पनि सामाजिक सञ्जाल बन्दको विरोध गरेकी छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यो आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । शाहीले टिकटकमा सन्देश राख्दै भनेका छन्, ‘हामी सदनबाट लड्छौं । तपाईंहरू सडकबाट लाग्नुस् ।’

विवेकशील साझा पार्टीकी नेता रञ्जु दर्शनाले आन्दोलनमा कसरी सुरक्षित हुने भन्दै टिप्स दिएकी छिन् । ‘नेपालमा दलविहीन ठूलो–ठूलो आन्दोलन हुन लाग्यो भने त्यसलाई तुहाउन भरपुर प्रयास हुन्छ । आन्दोलनको मुख्य मान्छे दलाल हो भनेर उडाउँछन् । यी सबै अनावश्यक अफवाहदेखि सतर्क हुनुहोला,’ उनले टिकटकमा भनेकी छन् । त्यस्तै कलाकारहरू प्रियंका कार्की, निश्चल बस्नेत, प्रकाश सपुतलगायतले पनि जेन–जीको प्रदर्शनलाई समर्थन जनाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार