पुल निमार्ण भएको ६ महिनासम्म पनि जग्गाको मुआब्जा नपाउँदा स्थानिय द्वारा पुल सञ्चालनमा रोक

बिहीबार, भदौ १२, २०८२
Global Ime Bank

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका–१ अल्का साँघुका स्थानियले गमगाढ खोलामा पक्की पुल निर्माण भएको ६ महिना सम्म पनि जग्गाको मुआब्जा नपाएको भन्दै पुल सञ्चालनमा रोक लगाएका छन् । गमगाढ खोलमा पुल निर्माण गर्दा स्थानियहरुको जग्गा समेत क्षति भएकाले स्थानियले त्यसको मुआब्जा माग गर्दै आएका छन् । गमगढी नाक्चेलाग्ना सडक अन्र्तरगत अल्कासाँघुस्थित गमगाढ खोला माथि बनेको यो पुलको छेउमा रहेको जग्गा स्थानीय धनबहादुर मल्लको ५८८.७५ वर्ग मिटर खेति योग्य जमिन प्रयोग गरेर बनाइएको हो । पुल निर्माण सुरु हुँदा  नगरपालिका र जग्गाधनीबीच मुआब्जा दिने सहमति भएको थियो । तर निर्माण सकिएपछि पनि मुआब्जा नपाएपछि मल्लले पुल सञ्चालनमा अवरोध गरेका हुन् । नगर प्रमुख बिष्णुकुमार भामले जग्गा विवादका कारण जोखिमपूर्ण ठाउँमा पुन नबन्ने देखेपछि दुवै पक्षसँग आवश्यक सहजीकरण गरी जग्गाधनीलाई नगरपालिकाले  आवश्यक क्षतिपूर्ति  दिने सहमति  गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको थियो । जग्गाधनी मल्लले क्षतिपूर्ति बापत मुआब्जा नपाएको भन्दै मोटरेबल पुल बाट मानिसको आवत जावत भएपनि सवारी साधन चल्नमा भने पुर्ण रुपमा रोक लगाएका छन् । नगरपालिका र मल्लबीच २०८० मङ्सिर ५ र २०८१ वैशाख ३ गते दुई पटक सहमति भएको थियो । सोही आधारमा सडक डिभिजन कार्यालय जुम्लाको ठेक्कामा हिम सगरमाथा कन्स्ट्रक्सनले  ८ करोडको लागतमा ४० मिटर लम्बाई रहेको पुल बनाएको हो ।   जग्गाधनी मल्लले भने, ‘सम्झौतामा हस्ताक्षर गर्न नगरपालिकाले दबाब दियो, मुआब्जा दिने बेला भने बेवास्ता गर्‍यो । अब मेरो जमिन प्रयोग गरेर खेतीपाती गर्छु । मुआब्जा नपाएसम्म पुल चल्न दिन्न ।’ नगरप्रमुख विष्णुकुमार भामका अनुसार सडक विभागले पुल र सडकजस्ता संरचनामा प्रयोग हुने निजी जग्गाको मुआब्जा दिने नीति नराखेकोले समस्या भएको हो । ‘हामीले विपद् व्यवस्थापन कोषबाट राहत स्वरूप रकम उपलब्ध गराएर समस्या समाधान गर्ने तयारीमा छौं ।’ उनले भने पुल सञ्चालनमा नआउँदा गमगढी बजार हुँदै मुगुमकार्मारोङ्ग गाउँपालिकातर्फ जाने यात्रुहरू मर्कामा परेका छन् । छाँया क्षेत्रधाममा साउन महिना सुरु भएसँगै भक्तजनको घुइँचो लाग्ने गरेको छ । तर पुल बन्द हुँदा भक्तजनलाई कम्तीमा १७ किलोमिटर बाटो पैदलै हिँड्नुपरेको छ । गत वर्ष यसै स्थानमा काठको लाप्कोबाट खोला तर्दै गर्दा ८ जना यात्रु खोस्रिएर बचेका थिए। त्यसपछि दबाबकै कारण तत्कालीन ठेकेदारले पुल बनाएको हो । उक्त पुलले नेपाल–चीनको नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडकलाई जोड्ने योजना छ। हालसम्म गमगढी बाट मुगुम् कार्मारोङको छाईल सम्म १७ किलोमिटर मात्र ट्याक खोलिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार