एसईईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मानसहित पुरस्कार 

शुक्रबार, साउन ३०, २०८२
Global Ime Bank

ललितपुर । ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ ।  महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालय तर्फ ३ दशमलव ९५ भन्दा माथि जिपिए ल्याउने र संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको हो ।  महानगरले शुक्रवार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यार्थीका विद्यार्थीलाई जनही दुईलाख हस्तान्तरण गरेको हो । यसैगरी सामुदायिक विद्यालय प्रत्येकलाई ४ लाख दिएको छ । संस्थागततर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सामुदायिकतर्फ बुङमतीको आर्दश सौल युवक माध्यमिक विद्यालयका ३ जना विद्यार्थीमध्ये एक जनाले ४ जिपिए र दुई जनाले ३ दशमलब ९६ जिपिए ल्याएका छन् ।  ललितपुर महानगरपालिकामा शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा ९१ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ भने ८१ दशमलव ०५ प्रतिशत र संस्थागत तर्फ ९४ दशमलव ९० प्रतिशत उत्तीर्ण भएका छन् ।  महानगर प्रमुख चिरीबाबु महर्जनले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी–संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो ।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रष्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरुले पनि यो अभ्यासलाई अनुसरण गरेको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिदैं जीवनका अझैं ठूल्ठूला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले विद्यार्थी, विद्यालय र अभिभावकको मिहिनेतका कारण सफलता प्राप्त भएका बताइन् । सफल विद्यार्थीलाई शुभकामना दिँदै उनले जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।  महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोना लगत्तै महानगरले  सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताए । उक्त सम्मान र प्रेरणालाई पुष्टि गर्ने आधारमध्ये एक विद्यार्थीले एसईईमा प्राप्त गरेको जिपिए भएको प्रष्ट पारे । 
जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयालले महानगरले संस्कृति संरक्षण, हरियाली प्रवद्र्धनसँगसँगै शिक्षा क्षेत्रमा गरेको यो असल अभ्यास भएको बताए ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिँदै सकारात्मक सोचसहित जिम्मेवार र इमान्दार बन्न अनुरोध गरे । ललितपुर महानगर शिक्षा महाशाखा प्रमुख देवी प्रसाद उपाध्यायले विद्यार्थी, शिक्षक र अभिभावकको अथक मिहेनत र परिश्रमलाई महानगरले सम्मान गरेको बताए । कार्यक्रममा पुरस्कृत विद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए । 

529579240_1048109017488745_1746093413336805785_n-1755265396.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार