सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनै पनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगति गर्न नसक्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगति गर्न नसक्ने बताए । उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरूको औसत उमेर नै ५५ देखि छ । यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन त रेडियो नेपालमा ? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । थाकेका रिटाएर हुन लागेका मान्छेहरूको मात्र जमात भएको संस्थाले कसरी सजिवन प्राप्त गर्न सक्छ ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशिल भइरहयो भने मात्र काम दिन्छ । जमेर बसेको छ भने लेउ लागेर बस्छ । लेउ लागेको संस्थाले कहिले पनि प्रगति गर्दैन ।’ यस्तै, उनले सबै सरकारी स्वामित्वको निकायहरूको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए । उनले भने, ‘म धेरै ठाँउमा जान्छु सबैको अवस्था त्यस्तै छ । टेलिकमिनिकेशनको अवस्था त्यस्तै छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ । गोरखापत्र त बाँडेर खाने मात्र हो । सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो । आफैं मेहेनत गरेर होइन् । हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो । हुलाकको लागि तपाईहरूले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस । यसमा धेरै सम्भावना देखेको छु ।’ नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ । उनले भने, ‘कुनै पनि संस्थाको विकासका लागि पहिलो कुरा त्यसको नीतिले संस्थाको उद्देश्य, लक्ष्य, कार्यक्रमहरू निर्धारण गरेको हुनुपर्छ । नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक हुन्छ । हुलाकको अहिलेसम्म नयाँ नीति छैन्, त्यसकारण यो वर्ष हुलाकको नीति ल्याउँदैछौं । नीति मात्र होइन नयाँ कानून बनाउदैँ छौ । त्यसकारण सुधारको सुरुवात नै नीतिबाट हुन्छ । पुनसंरचित संस्थाको लागि नीतिमा सुधार पहिलो कुरा हो ।’ उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुनर्संरचना भएको हुनाले पुनर्संरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए ।