सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रीसहितको एप सार्वजनिक गरेको छ । डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरूलाई निःशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो । एप सार्वजनिक गर्दै खैरेनी माध्यमिक विद्यालय सुक्लागण्डकीका पूर्वप्रधानाध्यापक केशवराज घिमिरेले श्रब्यदृश्यसहितको फ्लिप भिडियो तयार गरेर डियरवाक लर्निङ सेन्टरले डिजिटल भाषाको ढोका खोलेको बताए । उनले एपमा प्रशस्त सुधार गर्नुपर्ने भन्दै यसलाई नेपालका दूरदराजसम्म फैलाउन सुझाव दिए । डियरवाक एजुकेसन ग्रुपका अध्यक्ष हितेश कार्कीले पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा विकसित पाठ्यक्रमका आधारमा कक्षा ४ देखि ११ सम्मका लागि भिडियो कक्षाको विकास र वितरण गरिएको जानकारी दिए । उनले भने,‘करिब एक दशकको मेहेनतमा पहिलो चरणको सामग्रीहरु तयार गरेका छौं । एन्ड्रोइड र अफलाइन सुविधा यसमा उपलब्ध गराएका छौं । हामीले १२ देखि १८ मिनेटका श्रब्यदृश्य सामग्रीहरु एपमार्फत सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । कुनै किताब पल्टाएजस्तै भिडियोहरु तयार गरेका छौं ।’ अध्यक्ष कार्कीले नेपालका दूर दराज र विश्वभर निःशुल्क उपलब्ध गराउनेगरी वेभसाइट, युट्युब, गुगल प्लेस्टोर र एपस्टोरमार्फत सामग्रीहरु हेर्न र सुन्न सकिने जानकारी दिए । साथै एपमा नयाँ र पुरानो दुवै पाठ्यक्रम राखिएको समेत बताए । ‘परिवर्तनशिल शिक्षाको अवधारणा अनुरुप परिवर्तित पाठ्यक्रमलाई मध्यनजर गरी २०७८ सालको पाठ्यक्रम र पाठ्यपुस्तक अनुरुप श्रब्यदृश्य सामग्रीहरुको परिमार्जन गरी पुनः रेकर्डिङ गरेर नयाँ एप ल्याएका हौं,’ उनले भने । समारोहमा एजुकेट नेपालका सिइयो अशोक डल्लीले एपका फिचरहरुको प्रशंसा गरेका थिए । ४५ बढी शिक्षकहरुले तयार गरेको करिब ३५ सय बढी भिडियो सामग्री एपमा राखिएको पनि कार्यक्रममा जानकारी गराइयो । एपमा सबै अनिवार्य विषयको प्रविधिमैत्री विधिमार्फत अनलाइन, अफलाइन भिडियो सामग्रीहरु राखिएको जानकारी गराइयो । एपमा कक्षा अनुसारका विषयहरु छनोट गरेर सुन्न, हेर्न र पढ्न सकिने सुविधा उपलब्ध गराइएको छ ।