सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उनले भने, “भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्वानहरुलाई अनुरोध गर्दछु ।” उनले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो जनाउँदै भने, “साहित्यकारका लागि तनहुँ तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रका रुपमा स्थापित गर्नु आवश्यक छ ।” पुण्य भूमिको समृद्धिका लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न उनले प्रदेश सरकार सरोकारपक्ष सबैसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाकारी दिए । विसं १९७१ असार २९ मा तनहुँको चुँदी रम्घा गाउँमा कुलीन परिवारमा भानुको जन्म भएको हो । भानुभक्त सम्पूर्ण नेपाली जातिका लागि प्रेरणा र गौरवको स्रोत जनाउँदै उनले संसारभर छरिएर रहेका नेपालीहरुका लागि आदिकवि सदासर्वदा प्रातःस्मरणीय रहेको विज्ञप्तिमा बताउनुभएको छ । रासस