वडा कार्यालयलाई विपद् पूर्वतयारीका सामाग्री

अगुवा किसानलाई नमुना फार्म सञ्चालनका सामाग्री 
बुधबार, साउन २१, २०८२
Global Ime Bank

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–६ र ७ मा सञ्चालित प्राङ्गारिक (दिगो) र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास (एसएफभिसी) परियोजनाले ६ नं वडा कार्यालयलाई विपद् व्यवस्थापन पूर्वतयारीका सामाग्री वितरण गरेको छ । साथै सोहि परियोजनाले नमुना किसानलाई नमुना कृषि फार्म सञ्चालनको लागि पनि सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  लिखु ताकोशी गाउँपालिका–६ खिम्तिमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेलाई विपद् व्यवस्थापन पूर्वतयारी सामाग्री र किसानहरूलाई फार्मका सामाग्री हस्तान्तरण गरिएको हो ।  मनसुन साना किसान कृषि सहकारी संस्था खिम्तिसँगको साझेदारीमा दिगो कृषि तथा कृषकहरूको पेसागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धनका लागि सो परियोजना सञ्चालनमा छ ।  विषादी रहित खाद्यान्न उत्पादनमा जोड दिने सो कार्यक्रम मेड्सा डु मोण्ड र ट्रायङ्गल जेनेरेसन ह्युम्यानिटेरीको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसानले रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्ति मनसुन साना किसान सहकारी संस्थासँग सहकार्य गरी सञ्चालन गर्दै आएको छ ।  फ्रान्स सरकारको सहयोगमा सञ्चालित सो परियोजना रामेछापसँगै सिन्धुपाल्चोक, र काभ्रेपलाञ्चोक जिल्लामा पनि सञ्चालनमा रहेको  छ । सकारीमा आबद्ध किसानलाई आयआर्जनमा जोड्न १९ वटा समूह मार्फत ३ सय ८ घरलाई कार्यक्रममा जोडिएको उनले जानकारी दिए ।  ती मध्ये ५ जना नमुना किसानलाई नमुना फार्म सञ्चालनको लागि सहयोग गरिएको उनले जानकारी दिए । यसको लागि कम्तीमा एकै ठाउँमा ३ रोपनी जग्गा भएका किसान चाहिने उनले बताए ।  किसानले उत्पादन गरेका अग्र्यानिक कृषि उपज उचित मूल्यमा बजारमा बिक्रीको व्यवस्था पनि सहकारीले मिलाएको उनले जानकारी दिए । पहिलो चरणमा सबै मापदण्ड पुरा गरेका ५ जना किसानलाई सहयोग गरिएको उनले बताए ।  किसानहरूको पेसागत स्वास्थ्य प्रवर्धनका लागि पनि यो कार्यक्रम सञ्चालन गरिएको ग्रामीण विकासका लागि किसानका परियोजना संयोजक प्रमोद चौधरीले जानकारी दिए ।  परियोजनाले अगुवा किसानलाई तालिमका साथै प्राविधिकको समेत व्यवस्था गरिएको उनले बताए । वितरण गरिएको सामाग्रीले किसानलाई कृषि उपज वृद्धि र दिगो कृषि विकासको लागि सहयोग पुग्ने उने विश्वास व्यक्त गरे ।  मेड्सा डु मोण्डका प्रोग्राम म्यानेजर महेशप्रसाद जोशीले खिम्ती प्राकृतिक भूबनोटको हिसाबले विपतग्रस्त क्षेत्र भएकोले वडा कार्यालयलाई पूर्वतयारीका सामाग्री प्रदान गरिएको जानकारी दिए । उनले स्थानीयलाई यस अघि विपत् व्यवस्थापनको तालिम पनि दिइसकिएको बताए ।  वडाध्यक्ष शिवप्रसाद न्यौपानेले वडा नं ६ मा पटक पटक ठुला ठुला विपत् परेको बताउँदै प्राप्त सामाग्रीले विपतको बेला सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले किसानहरूलाई पनि प्राप्त सामाग्रीको सदुपयोग गर्न आग्रह गर्दै काम गर्नेलाई परियोजनाले गरेको सहयोग नपुगे वडा र स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।   कृषिमा विषादी र रासायनिक मलको प्रयोग घटाउने, स्थानीय जैविक मल र विषादीको प्रयोग बढाउँदै लैजाने, भकारो सुधार, गोठे मलको उचित प्रयोग, माटो परीक्षण र सुधार गरी अग्र्यानिक उत्पादनमा जोड दिने र किसानले उत्पादन गरेको अग्र्यानिक उत्पादनको उचित मूल्य सहित बजार व्यवस्थापन गर्ने काम सो परियोजना मार्फत हुने बताइएको छ ।त्यसको लागि खिम्तीमा कृषि संसाधन तथा ज्ञान केन्द्र स्थापना गरिएको छ ।  सो केन्द्रले माटो परीक्षण, किसानलाई आवश्यक उपकरण तथा प्रविधि सहयोग गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालयसँग सहकार्य गरी सो ज्ञान केन्द्रले कृषकका समस्या समाधानको लागि काम गरेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार