खानेपानी समस्या समाधानका लागि बन्द रहेका आयोजनाहरूको ऊर्जा मन्त्रालयद्वारा स्थलगत निरीक्षण

शुक्रबार, साउन १६, २०८२
Global Ime Bank

जनकपुर ।  खडेरी र सुख्खाका उत्पन्न खानेपानी समस्याको दृष्टिगत गर्दै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले धनुषा जिल्लास्थित केही मर्मत सम्भार अभावमा बन्द रहेका खानेपानी आयोजनाहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री यादवको नेतृत्वमा प्राविधिकसहितका टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरस्थित अर्को खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री यादवले मर्मत सम्भारको अभावका कारण बन्द अवस्थामा रहेका आयोजनालाई यथाशिघ्र सञ्चालनमा ल्याउन खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् । ‘जनताले खानेपानीको चरम अभाव खेप्नु परिरहेको बेला बन्द रहेका आयोजना तुरुन्त सञ्चालनमा ल्याउनु आवश्यक छ’, मन्त्री यादवले भने, ‘बजेट अहिले कार्यान्वयन नभए पनि मन्त्रालयको आन्तरिक श्रोत साधनले मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याईमा जनतालाई समयमै पानी खुवाउन प्रयासमा हामी जुटेका छौं ।’ दुवै खानेपानी आयोजनामा तत्काल पाइपलिङ्क तथा मर्मत सम्भार गरे पानी सञ्चालनमा आउने टोलीमा सहभागी प्राविधिक खानेपानी डिभिजन कार्यालय महोत्तरीका प्रमुख संजीव साहले बताएका छन् ।  उनले भने, ‘हुन त दुवै आयोजनाको काम पूर्णरुपमा सम्पन्न गर्न ४/५ करोडको लागत आउने हो । तर तत्काल मर्मत सम्भार गरी सञ्चालन गर्ने गरी तयारी अघि बढाइने छ ।’ उनका अनुसार महेन्द्रनगर खानेपानी आयोजनामा पाइपलिंक, पाइप मर्मत सम्भार र बक्यौता विद्युत् महसुल तिर्नुपर्ने काम रहेको छ भने विश्रामपुरस्थित खानेपानी आयोजनामा पाइप जडान र बोरिङ गरेपछि सञ्चालनमा आउनेछ । निरिक्षण टोलीमा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नगरपालिकाका जनप्रतिनिधिहरू, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार