कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ : सभापति देउवा (भिडियो)

शुक्रबार, साउन ९, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् ।  काठमाडौंमा शुक्रबार स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठीमा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भए पनि अझै बलियो हुन नसकेको बताएका हुन् ।  उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भए पनि व्यवहारमा सबै पार्टीहरू लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भए पनि विस्तारै बानी पर्छ । काँग्रेस पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यति बलियो भइ सकेका छैनौ ।’  अहिलेको संविधान एकदमै राम्रो भए पनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरू गर्नुपर्ने खालको अवस्था रहेको बताए । उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो छ । तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने । सम्झौताहरू गर्नुपर्ने खालको अवस्था छ । आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरू उठिरहेका छन् । त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै ।’ स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ ।  सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व.दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, समाजवादी चिन्तक भएको भन्दै उनको निधनले धेरै नै ठूलो क्षति भएको बताए ।  उनले भने, ‘स्व. दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो । उहाँ समाजवादी चिन्तक, सहज र सरल पनि हुनुहुन्थ्यो । पार्टीभित्र कहिले काही विवादको रेखा देखा परेपनि उहाँसँगको सम्बन्ध सधैँ राम्रो नै थियो । त्यसकारण आज यसरी शोक मनाउनु पर्दा एकदमै दुःख लागेको छ । उहाँको निधनले धेरै नै ठूलो क्षति भएको छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार