हेटौंडाको मास्टरचोकमा ट्याङ्करले विद्यालयको बसलाई दियो ठक्कर 

मंगलबार, साउन ६, २०८२
Global Ime Bank

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९, मास्टरचोकमा सोमबार बिहान सवारी दुर्घटना भएको छ ।  नेपाल आयल निगमको पेट्रोल बोकेको ट्याङ्करले एक विद्यालयको बसलाई ठक्कर दिएको र त्यसपछि उक्त बसले पार्किङ गरिएको निजी सवारीसंग ठोक्किँदा दुर्घटना भएको हो । ‘पहिलो पाइला फस्र्ट स्टेप मन्टेश्वरी’ विद्यालयको नाममा सञ्चालित पहेँलो रंगको बसमा चारजना सवार थिए, जसमा एकजना मात्रै विद्यार्थी रहेको जनाइएको छ । अन्य तीनजना विद्यालयका कर्मचारी थिए । दुर्घटनाका कारण स्कूल बसको अगाडिको भाग र पछाडि दुबै गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी, ठोक्किएको निजी सवारी पनि क्षतिग्रस्त भएको देखिन्छ। पेट्रोल ट्याङ्करको अगाडि भागमा पनि क्षति भएको छ ।    घटनापछि स्थानीयवासीको भीड लागेको थियो भने इलाका प्रहरी कार्यालय पशुपतिनगर टोलीले तत्काल घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । दुर्घटनामा गम्भीर मानवीय क्षति भने भएको छैन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विमला कठायतका अनुसार पेट्रोल ट्याङ्करको ब्रेक फेल वा लापरवाहीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार