अनलाइन टिभी पत्रकार संघले जारी गर्‍यो एआई आचार संहिता

सोमबार, साउन ५, २०८२
Global Ime Bank

काठमाडौँ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचार संहिता २०८२’ जारी गरेको हो । काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गरेका हुन् । एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।  उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरूमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरूलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।   मिडिया सम्बन्धी धेरै काममा नेपालको पहिलो एआई अभ्यासकर्ता समेत रहेका भण्डारीले एआई सम्बन्धी नेपालको पहिलो आचार संहिता नै अनलाइन टिभी एआई आचार संहिता भएको दाबी समेत गरे ।  सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले पनि अनलाइन टिभी एआई आचार संहिता नै नेपालको पहिलो एआई आचार संहिता भएको जानकारी दिए । उनले अरु कुनै पनि संस्था वा निकायले एआई सम्बन्धी आचारसंहिता जारी गरेको महासंघलाई अहिलेसम्म जानकारी नरहेको स्पष्ट पारे ।  अनलाइन टिभी पत्रकार संघले एआई आचार संहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै अधिकारीले भने, “यस्तै अभ्यास सबै क्षेत्रका अत्यावश्यक भइसकेको छ ।” संघले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्देश्यलाई समेत मध्यनजर गर्दै एआई आचार संहिता जारी गरिएको उल्लेख छ ।  एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परिक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचार संहिताको पहिलो बुँदामा लेखिएको छ ।  त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ ।  व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग नगरिने प्रतिवद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ ।  अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारहरूले यो आचार संहिता अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचार संहितामा लेखिएको संघका बरिष्ठ उपाध्यक्ष संजीव रेग्मीले जानकारी दिए । आचार संहिता यस संघका सवै सदस्यहरूका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताहरूका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयालको भनाई छ ।  इन्टरनेटमा भिडियो पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीहरूको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार