मन्त्री पाण्डेले गरे पशुपतिनाथको अनुगमन, दर्शनलाई व्यवस्थित बनाउन निर्देशन

सोमबार, साउन ५, २०८२
Global Ime Bank

काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन् ।  अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् ।  धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने साउन महिनाको सोमबार विशेषगरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ, र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । उनले दर्शनार्थीसँग समेत कुराकानी गरे । दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गरे । ‘यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको छ,’ दर्शनार्थी सरु खरेलले भनिन्, ‘दर्शनका लागि सटल बस, लाइन व्यवस्थापन, सुरक्षालगायत सबै पक्ष व्यवस्थित देखियो, जसले अशक्त तथा जेष्ठ नागरिकलाई सहज भएको छ ।’ यस वर्षको साउनको पहिलो सोमबारको दिन दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् । भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुहरूलाई राहत दिएको छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई सक्रिय रहन निर्देशन समेत दिए । साउन महिनाभरि प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । यस्तै मन्त्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा लगाइएको पितृमुक्ति ज्ञान माहायज्ञमा समेत सहभागी भएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार