अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा 

सोमबार, साउन ५, २०८२
Global Ime Bank

पोखरा । गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरूमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरू डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको छ ।  काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति पुर्‍याएको उनले बताए । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पोखरा–१३ का वडाध्यक्ष किरण बरालका अनुसार माथिल्लो क्षेत्रमा पर्खाल भत्किएर कटान हुँदा ढल्के पुलनजिकैको एक घरमा क्षति पुगेको हो । ‘खोलाको धार मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘क्षति भएको घरमा जाली लगाउने कार्य पनि थालिएको छ ।’ काहुँखोला बजार क्षेत्रमा नहरमार्फत पूर्वतर्फ विजयपुर खोलामा मिसिने तथा दक्षिणतर्फ सिँचाइ नहरमा जाने व्यवस्था रहेको छ । तर, शुभकामना टोलस्थित कांग्रेसका स्थानीय नेता दीपक गुरुङ र उनका आफन्तले प्लटिङ गर्दा बनाइएको रिटेनिङ पर्खालका कारण सिँचाइ नहर साँघुरिएको छ । यसले गर्दा पानीको निकास अवरुद्ध भई शुभकामना टोलका घरहरू डुबानमा परेको बताइएको छ । अत्यधिक चापका कारण २०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो, जसले बाढीको बहाव एकतर्फ केन्द्रित भएपछि आसपासका घरमा बाढी पसेको हो । बाढी पीडितहरूलाई हाल सुरक्षित स्थानमा राखिएको छ । वडा कार्यालय, सामुदायिक विकास संस्था र अन्य स्थानीय संघ–संस्थाको सहकार्यमा पीडितहरूको अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बाढीबाट प्रभावित स्थानीयवासीलाई हाल पोखरा–१३ स्थित समाज घरमा खाद्यान्न तथा आवासको अस्थायी प्रबन्ध मिलाइएको वडाध्यक्ष बरालले जनाएका छन् । हाल प्रभावित क्षेत्रका परिवारलाई तत्कालका लागि सुरक्षित राख्न र आवश्यक सहयोग पुर्‍याउन स्थानीय तह सक्रिय रहेको पनि उनले बताए ।

519596955_1750632048878379_8424002483747284919_n-1753067488.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार