सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुर्ननिर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सिमापुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिवद्धता आएको छ । यसैगरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरु टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडकलगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौ–चक्रपथ दोश्रो खण्ड विस्ताको काम छिटै शुरु हुने बताए । भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढीले क्षतिग्रस्त बनाएको सिमापुल रहेको स्थानमा दशैं अघिनै पुल निर्माण हुने अपेक्षा राखिएको छ । मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरु बीच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए । बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवात जावतमा कठिनाई भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् । छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीलगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरु सहभागी थिए ।