आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

बिहीबार, साउन १, २०८२
Global Ime Bank

काठमाडौं । आज साउने (कर्कट) सङ्क्रान्ति पर्व । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्रचलन रहेको छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ ।  महिलाहरुले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् । तराईमा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राको लागि आफूलाई तयार पार्ने गर्दछन् ।  काँवरका विभिन्न टोलीहरू काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँटघाट धामलगायतका विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने चलन छ ।  एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार