सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा प्रतिवेदन तयारीमा भएको त्रुटिबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ । समितिमा भएको सैद्धान्तिक सहमतिविपरीत ‘कुलिङ अफ पिरियड’ निष्प्रभावी हुने गरी प्रतिवेदन तयार र विधेयक पारित भएपछि आलोचना भएको थियो । सर्वत्र विरोधपछि समितिको काम छानबिनका लागि संसद्ले विशेष समिति नै गठन गरेको थियो । समितिले निरन्तर रूपमा संलग्न कर्मचारी र विज्ञसँग छलफल गरिरहेको छ । बुधबार समिति सभापति खतिवडासँग समितिले सोधपुछ गरेको हो । समितिले सभापति खतिवडासँग झन्डै दुई घण्टा सोधपुछ गरेको थियो । समिति सदस्यले प्रतिवेदन लेखनका क्रममा भएको त्रुटि, जिम्मेवार व्यक्ति, प्रतिवेदनको रुजु, उच्च पदस्थ कर्मचारीको दबाब भए वा नभएकोलगायत एक दर्जनभन्दा बढी प्रश्न खतिवडालाई गरेका थिए । आफैँले हस्ताक्षर गरेको प्रतिवेदन भएकाले जिम्मेवारी लिनुपर्ने वा नपर्ने विषयमा पनि सांसदले धारणा सोधेका थिए । समितिका एक सदस्यका अनुसार खतिवडाले प्रतिवेदन लेखनमा कर्मचारीमाथि मात्र विश्वास गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका थिए । प्रतिवेदनमा त्रुटि कसरी भयो भन्ने प्रश्नमा खतिवडाले अन्तिम प्रतिवेदन रुजु नगर्नु आफ्नो कमजोरी भएको बताएका थिए । प्रतिवेदनको मुख्य विवाद रहेको ‘कुलिङ अफ पिरियड’ राख्नुपर्ने विषयमा आफू समितिमा सधैँ प्रस्ट र उक्त व्यवस्थाको पक्षमा रहेको पनि समितिमा खतिवडाले बताएका थिए । खतिवडाको भनाई उद्धृत गर्दै समितिका एक जना सदस्यले भने, “मैले कर्मचारीलाई विश्वास गरेँ । यसमा मेरो कमजोरी भयो । अन्तिम प्रतिवेदन मैलै हेर्नुपर्ने थियो ।” समिति सदस्यले सम्बन्धित अन्तरमन्त्रालय र राज्यव्यवस्था समिति सचिवालयका कर्मचारीबीच व्यक्तिगत इमेलमा प्रतिवेदन आदानप्रदान भएको विषयमा पनि प्रश्न उठाएका थिए । सभापति खतिवडाले यसबारे भने आफूलाई जानकारी नभएको जवाफ दिएका थिए । अन्तिम प्रतिवेदन लेखनका क्रममा त्यस्तो भएको विषयमा सांसदले प्रश्न उठाएका थिए । विवादित भएको ‘कुलिङ अफ पिरियड’ का विषयमा राजनीतिज्ञ तथा उच्च प्रशासकको दबाबका विषयमा पनि सांसदले प्रश्न गरेका थिए । जवाफमा खतिवडाले सार्वजनिक रूपमा भएको दौडधुपका विषयमा सञ्चार माध्यमबाट आफूले पनि जानकारी पाएको तर व्यक्तिगत रूपमा आफूलाई दबाब नरहेको बताएका थिए । समितिका सचिवलाई संसद्का महासचिवले दबाब दिएको हो भन्ने प्रश्न पनि सांसदले गरेका थिए । सार्वजनिक रूपमा उक्त व्यवस्था हटाउन लबिङ गरेको जानकारी आफूलाई रहे पनि कर्मचारी प्रयोग गरेकोबारे आफूलाई जानकारी नभएको जवाफ खतिवडाले दिएका थिए ।