सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ठकुरीले २०८१ असार ३१ गते वर्तमान सरकार गठन भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण प्रस्तुत गरेका हुन् । मन्त्री ठकुरीले आफ्नो एक वर्षको कार्यकाल औसत रूपमा सफल रहेको दाबी गर्दै देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको बताए । उनले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानुनी सुधार गरिएको र नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार ल्याइएको उल्लेख गरे । उनका अनुसार, वन, वातावरण संरक्षण र जलवायु कार्यका लागि वैदेशिक अनुदानमा सम्झौता भएको छ । साथै, हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनका लागि यार्सागुम्बा निकासीको निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको छ । मन्त्री ठकुरीले वन क्षेत्रको वृद्धि, विस्तार र काठको उपयोगमा समेत वृद्धि भएको दाबी गरे । उनले मन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको र मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा केन्द्रित रहेको बताए । वनभित्र रहेका सडेगलेका रुखहरूको उपयोगमा बढावा दिइएको पनि उनको भनाइ छ । ‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि हामी केन्द्रित भएका छौँ। वनभित्र रहेका सुकेका तथा कुहिएका काठहरूको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौँ । यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ’ उनले भने ।