सोसल मिडिया
Contact Us
युनिकोड
ब्रसेल्स । कोभिड¬–१९ विरुद्ध लड्न युरोपेली संघ (ईयू) ले खोप दिन सुरु गरेको छ । खोपले रोग प्रतिरोधात्मक क्षमतामा बढोत्तरी ल्याउने विश्वास खोप विज्ञहरुको छ । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर र बायोएनटेकले विकास गरेको खोप संघका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन् । युरोपेली संघमा हालसम्म ३ लाख ३५ हजार जना भन्दा बढीको कोभिड¬–१९ का कारण मृत्यु भइसकेको छ । १ करोड ४० लाख भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ । कोरोना भाइरसको दोस्रो प्रकारको भाइरसले त्रास बढाइरहेका बेला खोप लगाउन सुरु गरिएको हो । नयाँ भाइरस अहिलेको भन्दा बढी संक्रामक भएको विवरण आइरहेका छन् । यो भाइरसले युरोपेली देशसहित क्यानडा, जापानमा समेत देखा परिसकेको छ । भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन् । खोप कार्यक्रमको पछिल्लो अवस्था ? युरोपेली संघअन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतवारबाट सुरु भएको हो । युरोपेली औषधि निकाय (इएमए) र युरोपेली आयोगले जर्मन–अमेरिकी फाइजर र बायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य सुरु गरिएको हो । ईयूले खोपका विभिन्न कम्पनीहरूबाट दुई अर्ब भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ । उत्तर–पूर्वी जर्मनीका अधिकारीहरूले भने आफूहरू थप एक दिन पनि नपर्खने भन्दै शनिवारबाटै ज्येष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेका थिए । त्यस्तै हङ्गेरीमा एकजना चिकित्सकलाई पहिलो खोप दिइएको सरकारी समाचार संस्थाले जनाएको छ भने स्लोभाकियामा पनि खोप दिन सुरु गरिसकिएको छ ।–बीबीसी