सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उच्च इन्जिनियरिङ शिक्षामा देशकै अब्बल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिवाजी निर्माण सेवाबीच आज स्नातक तहका विद्यार्थीहरूलाई बजारोन्मुख शिक्षा दिने सम्झौता भएको छ । देशमा वार्षिक हजारौं सिभिल इन्जिनियरहरू उत्पादन भए पनि कयौंसँग निर्माण व्यवसायीहरूलाई आवश्यक आधारभूत सिप अभाव हुँदा इन्जिनियरले काम नपाउँने र निर्माण व्यवसायीले इन्जिनियर नपाउँने समस्या आउने गरेको छ । उक्त समस्याको समाधानका लागि बजारोन्मुख शिक्षा दिन एभरेष्ट इन्जिनियरिङ कलेज र पशुपति शिवाजी निर्माण सेवाले हातेमालो गर्ने निर्णय गरी आजै दुबै संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्र अनुसार नेपालका निर्माण व्यवसायीहरूलाई आवश्यक सिपसहितका इन्जिनियरहरू उत्पादन गर्ने गरी कलेजको पाठ्यक्रममा क्रमिक परिमार्जन गर्ने, नन क्रेडिट कोर्स सञ्चालन गर्न सहकार्य गर्ने, सिपमूलक तालिम दिनेलगायतका बुँदाहरू राखिएका छन् । आज पशुपति शिवाजी निर्माण सेवाका पदाधिकारीहरूले एभरेष्ट इन्जिनियरिङ कलेजका प्रयोगशालाहरूमा भएका नेपाल सरकारको गुणस्तर प्रमाणपत्र प्राप्त अत्याधुनिक सामग्रीहरू र कलेजको नयाँ पाँचतले अत्याधुनिक भवनको पनि अवलोकन गरेका थिए । समझदारी पत्रमा एभरेष्ट इन्जिनियरिङ कलेजको तर्फबाट कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र पशुपति शिवाजी निर्माण सेवाको तर्फबाट इन्जिनियर सुशील कडरियाले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कलेजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अरूण कुमार भण्डारी, सहायक प्राचार्य इन्जिनियर राजन लामा तथा विभागीय प्रमुखहरू रोमहर्ष ओली र मुकुन्द पौडेल तथा निर्माण सेवाको तर्फबाट वरिष्ठ आर्किटेक्ट रोजना जोशीको पनि उपस्थिति थियो ।