सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरूसँग आग्रह गरेका छन् । मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँग छलफल गर्दै मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरूबाट गर्न सकिने तात्कालिन र दीर्घकालिन उपायहरू अवलम्बन गर्न आग्रह गरे । प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे । ‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरूलाई आग्रह गर्दछु,’मुख्यमन्त्री सिंहले भने । सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाधान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले समपूर्ण सरोकारवालाहरूलाई निर्देशन दिए । ‘अहिलेबाट नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस तर अव नागरिकलाई यो समस्याबाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं’, मुख्यमन्त्री सिंहले भने । उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए । मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे । बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, विभिन्न दातृ निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । ।