सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने भएको छ । मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (कट अफ डेट) निर्धारण गरी असार १६ गतेसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने आयोगले जनाएको छ । अद्यावधिक कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण साउन १४ गते आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । उक्त नामावलीमा साउन १५ देखि साउन २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्न समय निर्धारण गरिएको छ । यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरूको सहभागिता अपरिहार्य रहेकोले भदौ १५ देखि भदौ २२ सम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने आयोगका प्रवक्ता एवम् सहसचिव नीता पोखरेल अर्याले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।