सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२/८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिनेगरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको परिसंघले जनाएको छ । ‘लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको अवस्थामा यस मौद्रिक नीतिले आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ,‘ विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुले हाल पूँजीकोषमा दबाब झेलिरहनु परेको छ । यस्तो बेलामा कर्जा लगानी क्षमता तथा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायमलाई प्राथमिकतामा राख्नुले अर्थतन्त्रमा सकारात्मकता प्रदान गर्ने बताइएको छ । साथै, बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको विज्ञप्तिमा उल्लेख छ । खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा यस मौद्रिक नीतिले बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने सिबिफिनले विश्वास लिएको छ ।