विशेष अदालतले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र, न्यायिक इतिहासकै पहिलो सफलता

बुधबार, असार २५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिह्न आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।  बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमका बीच विशेष अदालतले प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिह्न एनएस/आइएसओ ९००१:२०१५ को प्रमाणपत्र सार्वजनिक गरिएको हो ।  प्रमाणपत्र सार्वजनिकरण कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अन्तर्राष्ट्रिय चिह्न एनएस,आइएसओ प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायिक इतिहासकै सफलता रहेको बताए । आइएसओ प्रमाणपत्र प्राप्तले अदालतलाई थप जिम्मेवार र सजक बनाउने बताउँदै उनले अब अदालतलाई यस अवस्थाबाट खस्किने छुट नहुने धारणा राखे । उनले भने, ‘अन्तर्राष्ट्रिय चिह्न एनएस,आइएसओ ९००१:२०१५ र यो प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायिक इतिहासमा न्यायालयको तर्फबाट यो एउटा सफलता प्राप्त गरेको ठानेका छौं । यो प्रमाणपत्र प्राप्त गर्दै गर्दा यसले हामीलाई झन् सजक बनाउछ । किनकी यो ठाउँमा आइसेकपछि अब आउने दिनमा हामीलाई यहाँबाट खस्किने छुट नहोला ।’  त्यस्तै उनले आइएसओ प्रमाणिकरण भएपछि हरेक वर्ष अडिटको सामना गर्नुपर्ने भएको कारण जोखिमपूर्ण रहेको बताए ।  ‘यो अलिकति जोखिमपूर्ण पनि छ । हरेक वर्ष अडिट हुन्छ र त्यो अडिटले जुन मापदण्ड निर्धारण गर्छ त्यही अनुसार हाम्रो गुणस्तर रहन्छ । अहिलेलाई हामीले तीन वर्षको प्रमाणपत्र लिएका छौं’, उनले भने ।   अध्यक्ष कुँवरको अनुसार कानुनमा मुद्दाको कारवाही र किनारा गर्ने अवधि तोकिए पनि तोकिएको अवधिभित्र मुद्दा फैसला हुन सकेका थिएनन् । विशेष अदालत ऐन, २०५९ को दफा १६ बमोजिम ६ महिनाभित्र मुद्दाको कारवाही र किनारा गर्ने कानुनी व्यवस्था छ । उक्त व्यवस्थाको पूर्ण परिपालना गर्दै मुद्दा दर्ता भएको ६ महिनाभित्र फैसला गर्न अदालत सफल भएको उनले जानकारी गराए ।  विशेष अदालतको इतिहासमै पहिलो पटक गत आर्थिक वर्षमा ८८ प्रतिशत अर्थात् ५ सय ७५ थान मुद्दामध्ये ५ सय ६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको र तीमध्य १ सय ९९ थान मुद्दा २ वर्ष नाघि ६ वर्षसम्मका रहेको उनको दाबी छ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार