सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुनः ३ बजेका लागि सारिएको छ । बैठक सारिनुको कारण प्रतिपक्ष दलहरूले बजेटको पुरक प्रस्ताव संसदमा ल्याउनुपर्ने अडान हो । माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्तावबिनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन् । उनका अनुसार सरकारले ल्याएको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पुरक प्रस्ताव ल्याउन माग गरिएको हो । शुक्रबारदेखि नै सरकारसँग निरन्तर छलफल भैरहेको उनले बताए । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सचिवालयका अनुसार संसदमा दर्ता भएको संकल्प प्रस्तावमा पुरक प्रस्ताव समावेश गर्ने तयारी भइरहेको छ । सोही प्रस्तावलाई संसद्ले पास गरी सरकारलाई निर्देशन दिने र बाँकी कार्यक्रमहरू कार्यान्वयन गरिने योजना बनाइएको छ । तर, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले भने प्रतिपक्षको माग अनुसार तुरुन्तै पुरक प्रस्ताव ल्याउने सम्भावना नदेखिएको बताएका छन् । उनले संसद चलाउने विषयमा अझै स्पष्ट निष्कर्ष ननिस्किएको बताएका छन् । माओवादी केन्द्रको कडा अडान र सरकारसँगको समन्वयको प्रयासबीच बागमती प्रदेशको संसदीय गतिरोध समाधान हुने वा थप जटिल बन्ने भन्ने प्रश्न खुलै छ ।