सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय भवन निर्माणमा एमालेका प्रतिनिधिहरूले अवरोध गरिरहेको आरोप लगाएका छन् । शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए । राजर्षि विश्वविद्यायल स्थापनको प्रयास भइरहेको समयमा एमालेका केन्द्रीय नेताहरूले अवरोध नगरोस् भनेर धनुषाका एमालेका प्रतिनिधिहरूले कांग्रेसलाई समर्थन गर्न काठमाडांै पुगेको नेता निधिले जानकारी दिए । उनले स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरूले सहयोग गरेको बताए । तर अब उल्टै एमालेका क्षेत्र नं.३ र ४ का प्रतिनिधिहरूले नै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाएका छन् । धनुषाको नगराईन नगरपालिकामासमेत एमालेका नेता तथा प्रतिनिधिहरूले बजेट पास गर्न नदिइरहेको नेता निधिले बताए । मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरूले माग गरेको उनले जानकारी दिए । सत्ता गठबन्धनमा एमाले र कांग्रेस सँगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगेको नेता निधिको आरोप छ । सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए । नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाएरै छाड्ने प्रतिवद्धता पनि जनाएका छन् । त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिवद्धर्ता जाहेर गरे ।