हिमाल युज बिज फेस्टिवल सम्पन्न

सोमबार, असार १६, २०८२

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखराको आयोजनामा सम्पन्न Himal Youth BIZ Festival २०८२ ऐतिहासिक तथा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा करिब ५००० बढी दर्शक र सहभागीहरूको उपस्थिति रहेको थियो । यस फेस्टिवलमा १५ ओटा फरक–फरक व्यापारिक स्टलहरूको व्यवस्था गरिएको थियो, जसमा मुख्य रूपमा नेपालमै सिर्जनात्मक र उत्कृष्ट कार्य गरिरहेका युवाहरू, व्यवसायिक समूहहरू तथा संस्थाहरूको सहभागिता रहेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई व्यवसायिक अवधारणासँग परिचित गराउनुका साथै आफ्नै माटो र संस्कृतिप्रति अभिमान जगाउने अवसर पनि प्रदान गरेको कलेजले जनाएको छ। विद्यार्थीहरूले आफैं स्टल सञ्चालन गरी आत्मनिर्भरता, उद्यमशीलता र नेतृत्व क्षमताको अभ्यास गर्ने मौका पाएका थिए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका खानेपानी तथा उर्जामन्त्री फणिन्द्र देवकोटीले भने “युवाहरूको यस्तो सिर्जनशील प्रयासले मात्र देशले दिगो आर्थिक समृद्धिको यात्रा सुरु गर्न सक्छ । म हिमाल कलेज परिवारलाई यस्तो प्रेरणादायी कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा हार्दिक बधाई दिन चाहन्छु ।” त्यसैगरी, वरिष्ठ अधिवक्ता तथा समाजिक अभियन्ता स्वागत नेपालले भने, “विद्यार्थी स्तरमै यस्ता व्यावसायिक र सिर्जनात्मक गतिविधिहरूले जिम्मेवार नागरिकको विकासमा मद्दत पुर्‍याउँछ । कलेजको यो प्रयास प्रशंसनीय छ ।” वरिष्ठ पत्रकार मनोज सापकोटाले पनि शुभकामना व्यक्त गर्दै भने, “आजका विद्यार्थीहरू भविष्यका अगुवा हुन्। यिनीहरूलाई यस्तो खुला मञ्च र व्यावसायिक अनुभव दिनु भविष्यप्रति लगानी गर्नु सरह हो । हिमाल कलेजको यो दृष्टिकोण अभिनन्दनीय छ।” कार्यक्रममा क्याम्पस प्रमुख बिकल रानाभाटले स्वागत मन्तव्य राख्दै भने, “हाम्रो लक्ष्य केवल शिक्षा दिनु मात्र नभई व्यवहारिक ज्ञान र नेतृत्व कौशल विकास गर्नु हो। यो फेस्टिवल त्यसैको सजीव प्रमाण हो ।” कार्यक्रम अध्यक्ष चेतनाथ भण्डारीले समापन मन्तव्यमा भने, “यो कार्यक्रम हाम्रो कलेजको ऐतिहासिक उपलब्धि हो। हामीले देखाएका उदाहरणहरूले अन्य शिक्षण संस्थाहरूलाई पनि यस्ता गतिविधिमा प्रेरित गर्नेछ ।” समारोहको सफल सञ्चालन सह–क्याम्पस प्रमुख लिला प्रसाद पराजुलीले गरेका थिए । साथै, Melodies Band द्वारा प्रस्तुत गरिएको सांगीतिक कार्यक्रमले समग्र माहोललाई उत्साहपूर्ण बनाएको थियो । हिमाल कलेजले यो कार्यक्रमलाई विद्यालय र कलेज तहमै व्यवसायिकता र उद्यमशीलताको सुरुवात गराउने ऐतिहासिक प्रयासका रूपमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार