ओली-नेपाल वार्ता सकारात्मक

बुधबार, असार २३, २०७८

काठमाडौंँ । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ ।  नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । तयसपछि उनीहरुबीच अलग–अलग वार्ता भएको थियो । भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।
वार्तामा सहभागी पार्टीका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको एकतालाई प्रभावकारी परिणामा लाने सम्बन्धमा गम्भीररुपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताए । वार्तास्थलमा रावलका साथै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी थिए । शीर्ष नेताबीच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो । 
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिन अघि कार्यदलको बैठक पुनः शुरु भएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघठन गराई नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । 
एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा सम्लग्न पार्टीका २३ निवर्तमान सांसद्बाट गरिएको हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निस्क्रिय भएको थियो । 
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता माधवकुमार नेपाल पक्षबाट डा रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार