छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढी बास’ देखि भूमि बैंक र सुनौलो शुक्रबारसम्म

बुधबार, असार ११, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

मुगु । छाँयानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ तथा नवप्रवर्तनात्मक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १७ औं नगरसभाबाट पारित योजनामा ‘एक रात गमगढी बास’, भूमि बैंक स्थापना, ‘सुनौलो शुक्रबार’ जस्ता आकर्षक कार्यक्रम समावेश गरिएका छन् । नगर प्रमुख विष्णुकुमार भामले प्रस्तुत गरेको नीतिमा कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् व्यवस्थापन, लैंगिक तथा सामाजिक समावेशीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । पर्यटन प्रवद्र्धनको लक्ष्यसहित एक रात गमगढी बास अभियान सञ्चालन गरिने भएको छ । रारा ताल घुम्न आउने अधिकांश पर्यटक सदरमुकाम गमगढी प्रवेश नगरी फर्कने गरेको पाइएपछि पर्यटकलाई एक रात गमगढीमै बस्ने वातावरण बनाउन पहल गरिने नगरप्रमुख भामले बताए । नीति तथा कार्यक्रमको बुँदा नं. ९ अन्तर्गत सञ्चार क्षेत्रमा पनि विशेष कार्यक्रम समेटिएको छ । जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि यान्त्रीकरण, विपद् व्यवस्थापन, सडक सुधार, सूचना प्रविधि, रोजगारी सिर्जना, लैंगिक र सामाजिक समावेशीकरण र खेलकुद प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेको छ । यस वर्षका लागि ‘सुनौलो शुक्रबार’, ‘महिनाको एक दिन शैक्षिक बहस’, खुलामञ्च रंगशाला निर्माण, १० शैयाको नगर अस्पताल सञ्चालन, नगरबस खरिद, आगलागी नियन्त्रणका लागि दमकल खरिदजस्ता नयाँ कार्यक्रम समावेश गरिएको छ । नगर उपप्रमुख ऐश्वर्य शाही मल्लले नीतिमा नागरिकका सुझावलाई समेट्ने प्रयास गरिएको बताउँदै नीति कार्यान्वयनमा जोड दिइने बताइन् । नेपाली कांग्रेसका जिल्ला सचिव लोकेन्द्र मल्लले विगतका नीति तथा कार्यक्रमको समीक्षा जरुरी रहेको बताए । जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले नीतिगत तयारी अघि सरोकारवालासँग सुझाव संकलन गर्नुपर्ने बताए । नेपाली कांग्रेसका महासमिति प्रतिनिधि तिलक मल्लले नीति सबै नागरिकसम्म पुग्नुपर्ने धारणा राखे ।
कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लले नीतिले दलित, महिला, पिछडिएका वर्ग र भूगोललाई समेट्नुपर्नेमा जोड दिए । त्यसैगरी, मंगलबार सम्पन्न सोरु गाउँपालिकाको १६ औँ गाउँसभा तथा बजेट अधिवेशनमा अध्यक्ष धर्मबहादुर शाहीले २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल र मासिक रिचार्ज कार्ड वितरण गरिने घोषणा गरेका छन् । स्वास्थ्य स्वयंसेविकालाई सूचना प्रवाहमा सहजता ल्याउन सो योजना ल्याइएको हो । साथै, ‘एक पुरुष भत्ता’ कार्यक्रम पनि नीति अन्तर्गत समेटिएको छ । उपाध्यक्ष केशर बहादुर शाहीले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँको बजेट पेश गरे, जसमा पूँजीगत खर्चतर्फ २२ करोड २५ लाख ४२ हजार र चालु खर्चतर्फ ३५ करोड ६९ लाख ५ हजार ५८२ रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार