वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्काल नगर्न अदालतको आदेश

सोमबार, असार ९, २०८२

रौतहट । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।  वृन्दावन नगरपालिका उप–प्रमुख संगीता कुमारी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेकी हुन् ।  अदालतका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले आइतबार नगर सभा अधिवेशनमा प्रस्तुत हुने बजेटको स्रोत, सिमा, कार्यक्रम , समेतका सम्बन्धमा नगरपालिका उपप्रमुखको महत्त्वपूर्ण भूमिका हुने  देखिदा यथास्थितिमा राख्न आदेश दिएको हो । वृन्दावन नगरपालिकाले आउँदो यही असार १० गते ९ औं बजेट अधिवेशन गर्ने तयारी गरेपनि यो आदेशसंगै अन्यौलमा परेको छ । नगरसभाको विषयमा छलफल गर्न  असार १३ गते नगर उपप्रमुख राम र विपक्षी दुवैलाई  बोलाएको अदालतले जारी गरेको पत्रमा उल्लेख छ ।  उक्त पत्रमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएकाले यो मुद्दाको पेसी असार १३ गतेलाई तोकिएको भनिएको छ । उपप्रमुख रामले आफूसँग कुनै राय सल्लाह नै नगरी नगर प्रमुख विनोद प्रसाद कुर्मीले एकलौटी ढंगले नगरसभा गर्न लागेपछि अदालतसम्म पुगेको बताएकी छन् । उपप्रमुखको अनुपस्थितिमा नगरसभा सञ्चालन गरिनु उचित नहुने भन्दै जनप्रतिनिधिहरूबीच पनि मतभेद देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार