सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण गरेको छ । इरानका परमाणु केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको ह्वाइट हाउसले जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन् । ट्रम्पले ती हमलाहरू ‘निकै सफल’ भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको ‘फूल पेलोड’ खसालिएको समेत बताए । इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग ‘शत्रुको आक्रमणमा परेको’ जनाएको छ । अमेरिकाले शनिवार इरानलाई ूकूटनीतिक रूपमा ‘सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको’ जनाएको थियो । इरानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन् । यस क्रममा ट्रम्पले अझ धेरैवटा लक्ष्यमा हमला गर्न बाँकी नै रहेको बताएका छन् । उनले भने, ‘धेरै निशानालाई लक्ष्य गर्न बाँकी छ ।’ ट्रम्पले अब इरान शान्तिको बाटोमै आउनैपर्ने अन्यथा आगामी दिनमा अझ ठूला हमलाको सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ। यदि उसले त्यसो गरेन भने भविष्यमा हुने आक्रमण अझ ठूला हुनेछन् ।’ ट्रम्पले इरानमा खतरनाक र विनाशकारी योजना तयार भइरहेको दाबी पनि गरे । उनले भने, ‘म संसारलाई भन्न चाहन्छु–आज रातिको आक्रमण पूर्ण रूपमा सफल भएको छ।’ ट्रम्पले इरानलाई चेतावनी दिँदै अगाडि भनेका छन्, ‘अब कि शान्ति हुनेछ कि इरानमा विपत्ति आउनेछ, जुन पछिल्लो आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ।’ सम्बोधनमा उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद पनि दिएका छन् । इरानले पनि अमेरिकाले आफ्नो देशमा हमला गरेको पुष्टि गरिसकेको छ। सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ ।