भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु

शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

भक्तपुर । भक्तपुर उद्येग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ ।  उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा व्यापार मेला सञ्चालन गरिएको हो । मेलाको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राज्यको गलत नीतिका कारण काठमाडौं उपत्का वातावरणीय दृष्टिकोणले विनाशतर्फ अगाडि बढेको बताएका छन् । हरेक नागरिकले गुणस्तरीय जीवनयापन गर्न पाउनुपर्ने भन्दै उनले बढ्दो प्रदूषणका कारण उपत्यका रोगको थलो बन्न लागेकोप्रति चिन्ता व्यक्त गरे ।  उपत्यकाको तापक्रम सन्तुलित बनाउन, वायुमण्डल सन्तुलित बनाउन नसकेमा आगामी दिनमा स्वास्थ्यका हिसाबले भयावह अवस्था सिर्जना हुने उनको भनाइ छ । उपत्यकाका बनजंगल फडानी गरी भइरहेका प्लटिङको चर्को विरोध गर्दै उनले भने, ‘सन्तुलित वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बन जंगल फडानी भइरहँदा समेत सम्बन्धित निकायको ध्यान जान नसक्नु विडम्बनाको कुरा हो ।’ गोसाईले सघन बस्ती भइसकेको भक्तपुर नगरपालिकाको ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणको लागि आफूहरु प्रयासरत रहेको बताए । उनले संघीय र प्रदेश सरकारको हरेक बजेट र नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र बस्तीभन्दा बाहिर खुला क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने विषय समेट्नको लागि सुझाव दिँदै आएको जानकारी दिए ।  उनले उद्योगी व्यवसायीहरु हरेक समय समुदायसँग निकट भएर बस्नुपर्ने भन्दै उद्योगी, उद्यमी र समाजको दूरी बढ्न नहुनेमा जोड दिए । उद्योगी व्यवसायीहरु समुदायमा रहेर समुदायको भावनालाई आत्मसाथ गर्दै अगाडि बढनुपर्ने उनको भनाइ छ । ‘समुदायको भावना बमोजिम उद्योगी व्यवसायीहरुले गतिविधिहरु अगाडि बढाउन सकेमा उद्यम उत्पादनमा बदलिने र त्यस किसिमका उत्पादन उपलब्धिमूलक हुन्छ’, उनले भने । राष्ट्रिय पुँजी निर्माणमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले स्थानीय मौलिक उत्पादनको विकास तथा प्रवद्र्धन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।  नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले युवा पुस्तालाई उद्यमतर्फ आकर्षित गर्नुपर्ने बताए । काठमाडौं उपत्यकाभित्रका बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रलाई बस्ती बाहिर स्थानान्तरण गर्न अपरिहार्य भइसकेको उनको भनाइ छ । बस्ती खासै नभएको बेला स्थापित ती औद्योगिक क्षेत्रहरु सो समयमा सान्दर्भिक भए पनि अहिले बस्ती बढिसकेको, औद्योगिक क्षेत्रको स्थान अपुग भएको र उद्योग गर्न चाहनेहरुले औद्योगिक क्षेत्रभित्र स्थान पाउन नसकेको लगायतका कारणले ती औद्योगिक क्षेत्रहरुलाई स्थानान्तरण गर्न आवश्यक रहेको बताए ।  भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले प्रतिस्पर्धी व्यवसायिक कृषि, दिगो पर्यटन तथा निर्यातमुखी हस्तकला एवं जिल्लाका अन्य उद्योग व्यवसायहरुको समेत प्रवद्र्धन तथा विकास गर्ने संघको दृष्टिकोणलाई मध्यनजर गर्दै जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट निर्मित हस्तकलाका सामानहरु, औद्योगिक उत्पानहरुको प्रवद्र्धन तथा नविन सम्भावनाहरुको पहिचान र सदुपयोग गरी जिल्लाको आर्थिक उत्थानमा टेवा पुर्‍याउन व्यापार मेला आयोजना गरिएको जानकारी दिइन् । ‘मेला आयोजनाबाट भक्तपुर जिल्लाको आर्थिक, सामाजिक एवं सांस्कृतिक गतिविधिहरु वृद्धि भई विकासमा नयाँ आयाम कोरिनेमा विश्वस्त छु’, उनले भनिन् ।  कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले मेला सफलताको शुभकामना दिँदै आआफ्नो धारणा राखेका थिए । 
यसैगरी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापति, कार्यसमिति सदस्य एवं मेला संयोजक रञ्जित मारिखूले जिल्लाको मौलिक उत्पादन एवं स्थानीय सीप र साधनबाट उत्पादित हस्तकलाका सामग्रीहरु, औद्योगिक वस्तु तथा सेवाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्ने लक्ष्यका मेला आयोजना गरिएको बताए ।  भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला असार ७ गतेसम्म र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार एवं खाना महोत्सव सञ्चालन हुने महासचिव नविन प्रजापतिले जानकारी दिए ।  मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, मूर्तिकलाको प्रदर्शनी लगायतका गरी ४० भन्दा बढी स्टल रहेका छन् । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यान र स्थानीय खानाका स्टलहरु पनि राखिएको छ । 
नेपाल उद्योग वाणिज्य महासंघ मेलाको सहयोगी निकाय रहेको छ । मेलाको प्रवद्र्धकमा चाँगुनारायण नगरपालिका कार्यालय रहेको छ भने सोसियल पार्टनरमा लायन्स इन्टरनेसनल र ब्लड डोनर्स एशोसिएसन नेपाल रहेका छन् । सञ्चार साझेदारका रुपमा ङातापोल एक्सप्रेस दैनिक, नमस्ते ख्वप एचडी, भक्तपुर एफएम र भादगाउँ टेलिभिजन रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरका रुपमा युनाइटेड अजोड इस्योरेन्स लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् भने इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ । 
मेला अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवधिभर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम समेत राखिएको छ । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार