सोसल मिडिया
Contact Us
युनिकोड
सल्यान । सल्यानको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ का लागि १ अर्ब १९ करोड २९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा शारदा नगरपालिकाको १७ औं अधिवेशनमा उपप्रमुख सुस्मिता सापकोटाले बिहीबार प्रस्तुत गरेको बजेट नगरसभा सदस्यहरुबाट सर्वसम्मत रुपमा पारित भएको हो । नगरप्रमुख प्रकाश भण्डारीले नगरपालिकाले पालिकाको इतिहासमा नै पहिलोपटक ठूलो परिमाणको बजेट ल्याएको जानकारी दिए । उनले भने, ‘यो परिमाणको बजेट ल्याउनु हाम्रो लागि खुशीको कुरा हो, यसको समुचित प्रयोग गरेर शारदाको विकासलाई अर्को चरणमा पुर्याउँछौं ।’ शारदा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ मा ८२ करोड ७१ लख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । नगरपालिकाले सबैभन्दा धेरै बजेट खानेपानी र सफाईको क्षेत्रमा विनियोजन गरेको छ । खानेपानी र सरसफाई ४६ करोड २४ लाख गरेको पालिकाले जनाएको छ । नगर प्रमुखले भने, ‘प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका हौँ, खानेपानी हाम्रो पहिलो प्राथमिकता हो ।’ शिक्षा, युवा तथा खेलकुदमा २५ करोड ८५ लाख, स्वास्थ्यमा ५ करोड ८९ लाख ३८ हजार, कृषि विकासमा ५८ लाख २० लाख विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि २ करोड आन्तरिक आयबाट उठाउने योजना छ भने १ अर्ब १७ करोड २ लाख १२ हजार रुपैयाँ प्रदेश तथा संंघ सरकारबाट अनुदान प्राप्त हुने सार्वजनिक गरिएको बजेटमा उल्लेख गरिरएको छ । आन्तरिक आम्दनी तर्फ भूमि तथा मालपोत कर, व्यवसाय कर, सेवा शुल्क, जरिवाना, मालपोत कार्यालयबाट प्राप्त हुने रकम र अन्य शुल्कहरुबाट करिब २ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ । पशु सेवामा ३७ लाख ५० हजार, महिला बालबालिका तथा समाज कल्याणमा २० लाख विनियोजन गरिएको छ । सहकारी संघसंस्थामा १० लाख, वन तथा वातावरणमा ३५ लाख, विपद् व्यवस्थापनमा ३० लाख, सूचना प्रविधिमा ४० लाख, अध्ययन अनुसन्धानमा १० लाख, स्वास्थ्य उपचार कोषमा १५ लाख, मर्मत सम्भार कोषमा १० लाख, उपप्रमुख पोषण कोसेली कार्यक्रममा ५ लाख, कार्यालय संचालनमा ५ करोड कर्मचारी पारिश्रमिक तथा सुविधामा ७ करोड ४४ लाख , पदाधिधारी सेवा सुविधामा १ करोड ३० लाख, नगरप्रहरीमा १ करोड ५ लाख, वडागत पूँजीगत ३ करोड, वडागत चालू ६९ लाख, रोजगार परियोजनामा २ करोड ४४ लाख ३१ हजार, पूर्वाधार योजनामा १ करोड ६८ लाख, सवारी साधान खरिदमा ५० लाख, भुक्तानी बाँकी परियोजनामा २० लाख र क्रमागत योजनामा ८७ रुपैयाँ विनियोजन गरिएको छ । नगर प्रमुख भण्डारीले बजेटलाई सकेसम्म समावेशी, न्यायपूर्ण र विकासमुखी बनाएको बताए । उपप्रमुख सुस्मिता सापकोटाले नागरिकको आवश्यकता प्राथमिकतालाई आधार बनाएर स्रोतलाई आधार बनाएर बजेट विनियोजन गरेको बताइन् ।