सोसल मिडिया
Contact Us
युनिकोड
सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रममा यसअघि लिइएकाे सुझावलाई समेटिएको बताए । शारदाका जनप्रतिनिधि समावेशी र सहभागितामूलक बजेट निर्माणका लागि टोल र बस्तीमा पुगेका थिए । नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक सेवा र उद्यम विकासलगायतका क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ । कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भरता र व्यवसायीकरणलाई प्राथमिकता दिँदै नगरपालिकाले उच्च मूल्यका बाली उत्पादन, गुणस्तरीय बीउ प्रवद्र्धन, रासायनिक मलको व्यवस्थित आपूर्ति, घुम्ती माटो परीक्षण शिविर, व्यवसायिक कृषियन्त्र वितरणजस्ता कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ । मौरीपालन, सुन्तला र ओखर खेती विस्तार, बाँझो जमिनको सदुपयोग र जलवायु अनुकूल तरकारी खेतीलाई पनि प्रमुख प्राथमिकतामा राखेको पालिकाले जनाएको छ । पशुपालनलाई व्यवसायीकरण गर्दै पशु दाना उत्पादन, कृत्रिम गर्भाधान, खोप अभियान, विशिष्ट जातका पंछीपालन र गौशाला व्यवस्थापन जस्ता कार्यक्रमहरू अघि सारिएको छ । यसले पशुपालकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास नगरपालिकाको छ । नगरपालिकाले बेरोजगार युवा, महिलाहरू र पिछडिएका वर्गलाई लक्षित गर्दै सीप विकास तालिम, स्वरोजगारका लागि कच्चा पदार्थको उपलब्धता, निजी क्षेत्रसँगको सहकार्य र लघु उद्यम प्रवद्र्धनमा जोड दिएको छ । मेयर उत्कृष्ट कृषक पुरस्कारबाट उद्यमशीलता र रोजगार सिर्जनामा थप जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन प्रवद्र्धनका लागि खैरावाङ्ग मन्दिर क्षेत्रको विकास, पार्क निर्माण, होमस्टे प्रवद्र्धन, बुद्ध पार्क संरक्षण र पर्यटन सूचना केन्द्र स्थापना जस्ता कार्यक्रमहरू ल्याइएको छ । स्वास्थ्य सेवा क्षेत्रमा ‘हाम्रो स्वास्थ्य, राम्रो स्वास्थ्य’ नाराका साथ सबै वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने, आपतकालीन सेवा सुदृढीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, पोषणयुक्त आहार वितरण, विद्यालय स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य सेवा विस्तार गरिने उल्लेख छ । बालबालिकालाई पोषणयुक्त खाद्यवस्तु उपलब्ध गराउने, स्तनपान कक्ष स्थापना, किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी, दीर्घरोगीहरूलाई मासिक उपचार खर्चको समेत व्यवस्था गर्ने विषय नीतिमा उल्लेख गरिएको छ । शिक्षा क्षेत्रमा सबै बालबालिकालाई गुणस्तरीय, प्रतिस्पर्धी, प्रविधिमैत्री तथा बालमैत्री वातावरणमा पहुँच सुनिश्चित गर्दै रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ । १० वर्षे शिक्षा योजना कार्यान्वयन, बालविकास कक्षाका शिक्षकलाई तालिम, उत्कृष्ट विद्यालय र शिक्षक सम्मान, सुरक्षित शैक्षिक वातावरण निर्माण, अभिभावक शिक्षा कार्यक्रम र असहाय बालबालिकालाई छात्रावासमार्फत शिक्षा उपलब्ध गराउने व्यवस्था नीतिमा उल्लेख गरिएको छ । साथै, सार्वजनिक विद्यालयका पूर्वाधार सुधार, विद्युतीय उपकरण व्यवस्थापन र शैक्षिक सूचना प्रवाहमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा समावेश छ । खेलकुद क्षेत्रमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन, प्रशिक्षक व्यवस्थापन र मेयर कप क्रिकेट प्रतियोगितालाई निरन्तरता दिने योजना प्रस्तुत गरिएको छ । खानेपानी समस्याको समाधानका लागि त्रिपक्षीय सम्झौता अनुसार ठूला योजना अघि बढाइने, निजी धारा जडान अभियान निरन्तरता दिने, स्वच्छता र फोहर व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छन् । पूर्वाधार विकासमा सडक मर्मत, सडक बत्ती विस्तार, बसपार्क व्यवस्थापन, सडक गुरुयोजना अद्यावधिक तथा नमूना विद्यालय सञ्चालन प्राथमिकतामा रहेका छन् । वन, वातावरण र विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनसँग जुध्ने कार्यक्रम, वृक्षारोपण, फोहरमैला व्यवस्थापन सुधार र विपद् कोषमा रकम विनियोजन गर्ने योजना रहेका छन् । न्यायिक समितिको काममा चुस्तता र गुणस्तरयुक्त बनाउन व्यवस्थित इजलास निर्माण र न्यायिक मामिला व्यवस्थापन प्रणाली सुरु गरिनेछ । नगरप्रमुख भण्डारीले नगरपालिकालाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना पाटी र डिजिटल सेवा विस्तारमा जोड दिने बताए । शारदा नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘शून्य बेरुजु’ नीति अपनाउँदै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने, लेखा परीक्षणलाई वस्तुनिष्ठ बनाउन र कर्मचारी तथा जनप्रतिनिधिलाई आवश्यक तालिम प्रदान गर्न प्रतिबद्धता जनाएको छ । नगरप्रमुख भण्डारीले जनमुखी, पारदर्शी र समावेशी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘बजेट निर्माण कुनै कार्यालयको गोप्य काम होइन, यो जनताको सहभागितामा बन्ने दस्तावेज हो, सबैलाई समेटेर बजेट ल्याउँछौ ।’ त्यस्तै उप–प्रमुख सुस्मिता सापकोटा सुनारले नीति तथा कार्यक्रमले महिला सहभागिताऽ लैङ्गिक समानता, बालमैत्री कार्यक्रम, युवा तथा कृषिलगायतका विषयलाई प्राथमिकता राखेको बताइन् । नगरसभामा विभिन्न वडाका प्रतिनिधिहरूले समस्या, प्राथमिकता र आवश्यकताका बारेमा आफ्ना माग तथा धारणा राखेका थिए ।