सोसल मिडिया
Contact Us
युनिकोड
सल्यान : सल्यान जिल्लाको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सम्बन्धित सकार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले नगरले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्राप्त सुझावलाई समेटिएको बताए । शारदा नगरका जनप्रतिनिधि समावेशी र सहभागितामूलक बजेट निर्माणका लागि टोल र बस्तीमा पुगेका थिए । नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक सेवा र उद्यम विकासलगायतका क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ । कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भरता र व्यवसायीकरणलाई प्राथमिकता दिँदै नगरपालिकाले उच्च मूल्यका बाली उत्पादन, गुणस्तरीय बीउ प्रवद्र्धन, रासायनिक मलको व्यवस्थित आपूर्ति, घुम्ती माटो परीक्षण शिविर, व्यवसायिक कृषियन्त्र वितरणजस्ता कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ । मौरीपालन, सुन्तला र ओखर खेती विस्तार, बाँझो जमिनको सदुपयोग र जलवायु अनुकूल तरकारी खेतीलाई पनि प्रमुख प्राथमिकतामा राखेको पालिकाले जनाएको छ । पशुपालनलाई व्यवसायीकरण गर्दै पशु दाना उत्पादन, कृत्रिम गर्भाधान, खोप अभियान, विशिष्ट जातका पंछीपालन र गौशाला व्यवस्थापन जस्ता कार्यक्रमहरू अघि सारिएको छ । यसले पशुपालकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास नगरपालिकाको छ । नगरपालिकाले बेरोजगार युवा, महिलाहरू र पिछडिएका वर्गलाई लक्षित गर्दै सीप विकास तालिम, स्वरोजगारका लागि कच्चा पदार्थको उपलब्धता, निजी क्षेत्रसँगको सहकार्य र लघु उद्यम प्रवद्र्धनमा जोड दिएको छ । मेयर उत्कृष्ट कृषक पुरस्कारबाट उद्यमशीलता र रोजगार सिर्जनामा थप जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन प्रवद्र्धनका लागि खैरावाङ्ग मन्दिर क्षेत्रको विकास, पार्क निर्माण, होमस्टे प्रवद्र्धन, बुद्ध पार्क संरक्षण र पर्यटन सूचना केन्द्र स्थापना जस्ता कार्यक्रमहरू ल्याइएको छ । स्वास्थ्य सेवा क्षेत्रमा ‘हाम्रो स्वास्थ्य, राम्रो स्वास्थ्य’ नाराका साथ सबै वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने, आपतकालीन सेवा सुदृढीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, पोषणयुक्त आहार वितरण, विद्यालय स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य सेवा विस्तार गरिने उल्लेख छ । बालबालिकालाई पोषणयुक्त खाद्यवस्तु उपलब्ध गराउने, स्तनपान कक्ष स्थापना, किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी, दीर्घरोगीहरूलाई मासिक उपचार खर्चको समेत व्यवस्था गर्ने विषय नीतिमा उल्लेख गरिएको छ । शिक्षा क्षेत्रमा सबै बालबालिकालाई गुणस्तरीय, प्रतिस्पर्धी, प्रविधिमैत्री तथा बालमैत्री वातावरणमा पहुँच सुनिश्चित गर्दै रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ । १० वर्षे शिक्षा योजना कार्यान्वयन, बालविकास कक्षाका शिक्षकलाई तालिम, उत्कृष्ट विद्यालय र शिक्षक सम्मान, सुरक्षित शैक्षिक वातावरण निर्माण, अभिभावक शिक्षा कार्यक्रम र असहाय बालबालिकालाई छात्रावासमार्फत शिक्षा उपलब्ध गराउने व्यवस्था नीतिमा उल्लेख गरिएको छ । साथै, सार्वजनिक विद्यालयका पूर्वाधार सुधार, विद्युतीय उपकरण व्यवस्थापन र शैक्षिक सूचना प्रवाहमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा समावेश छ । खेलकुद क्षेत्रमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन, प्रशिक्षक व्यवस्थापन र मेयर कप क्रिकेट प्रतियोगितालाई निरन्तरता दिने योजना प्रस्तुत गरिएको छ । खानेपानी समस्याको समाधानका लागि त्रिपक्षीय सम्झौता अनुसार ठूला योजना अघि बढाइने, निजी धारा जडान अभियान निरन्तरता दिने, स्वच्छता र फोहर व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छन् । पूर्वाधार विकासमा सडक मर्मत, सडक बत्ती विस्तार, बसपार्क व्यवस्थापन, सडक गुरुयोजना अद्यावधिक तथा नमूना विद्यालय सञ्चालन प्राथमिकतामा रहेका छन् । वन, वातावरण र विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनसँग जुध्ने कार्यक्रम, वृक्षारोपण, फोहरमैला व्यवस्थापन सुधार र विपद् कोषमा रकम विनियोजन गर्ने योजना रहेका छन् । न्यायिक समितिको काममा चुस्तता र गुणस्तरयुक्त बनाउन व्यवस्थित इजलास निर्माण र न्यायिक मामिला व्यवस्थापन प्रणाली सुरु गरिनेछ । नगरप्रमुख भण्डारीले नगरपालिकालाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना पाटी र डिजिटल सेवा विस्तारमा जोड दिने बताए । शारदा नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘शून्य बेरुजु’ नीति अपनाउँदै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने, लेखा परीक्षणलाई वस्तुनिष्ठ बनाउन र कर्मचारी तथा जनप्रतिनिधिलाई आवश्यक तालिम प्रदान गर्न प्रतिबद्धता जनाएको छ । नगरप्रमुख भण्डारीले जनमुखी, पारदर्शी र समावेशी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘बजेट निर्माण कुनै कार्यालयको गोप्य काम होइन, यो जनताको सहभागितामा बन्ने दस्तावेज हो, सबैलाई समेटेर बजेट ल्याउँछौ । ’ त्यस्तै उप–प्रमुख सुस्मिता सापकोटा सुनारले बजेटमा महिला सहभागिता हरूको भूमिका, लैङ्गिक समानता, बालमैत्री कार्यक्रम, युवा तथा कृषि लगायतका विषयलाई प्राथमिकता राखेको बताइन् । कार्यक्रममा विभिन्न वडाका प्रतिनिधिहरूलेसमस्या, प्राथमिकता र आवश्यकताका बारेमा आफ्ना माग तथा धारणा राखेका थिए।