सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–८ ग्वलः क्षेत्रमा आज ‘मचाती’ त्रिशुल जात्रा हुँदैछ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन यस क्षेत्रमा ऐतिहासिक त्रिशुल जात्रा हुने गर्दछ । जय मंगला ‘बछलेश्वरी डवली’, पशुपति वज्र घर, जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिने गरिन्छ । बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रमा गराउने प्रचलन रहि आएको छ । जात्राको सुरुमा जय मंगला ‘बछलेश्वरी डवली’ र बज्रघरबाट एक/एक जना बालकलाई कुमारको रूपमा बेग्लाबेग्लै खटमा राखेर जयवागेश्वरीतर्फ लगिन्छ । जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खटमा राखी जात्रामा सम्मिलित गराइन्छ । त्यसपछि तीन वटै खटलाई सिफलको उकालो चलँपाः सम्म पुर्याई त्यहाँबाट फर्काई नगर परिक्रमा गराइसकेपछि आर्यघाटमा जात्रा समापन गराइन्छ । बन्धुदत्त आचाजुको छोराको शवको प्रतीकलाई भष्मेश्वरी राजराजेश्वरीमा सेलाइन्छ । देवमाला वंशावलीमा यो जात्रा राजा अमर मल्लले नेपालसंवत् ६३४ देखि चलाएको पाइन्छ ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ पुस्तकमा भने यो जात्रा राजा यक्ष मल्लले नेपालसंवत् ६३४ (वि.सं. १५७०) मा चलाइएको उल्लेख गरिएको छ । मचाति जात्राका लागि वैशाखशुक्ल पूर्णिमा बुद्ध जयन्तीका दिन जयबागेश्वरी देवीको वर्षवद्र्धन पूजाको रात कुमार–कुमारी छान्ने परम्परा रहेको छ ।