सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड¬–१९ को नयाँ प्रकार बेलायतसहित अन्य धेरै युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि भएपछि चिन्ता थपिएको छ । स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका संक्रमितको सम्बन्ध बेलायतबाट फर्केका मानिसहरूसँग पाइएको छ । भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन् ।
कहाँ देखियो सङ्क्रमण ? अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् । उच्च जोखिममा रहेका कसैलाई पनि उनीहरूले भेटेका थिएनन् । जापानमा सबैभन्दा पहिले बेलायतबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो । त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ । जापानले सोमबारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ । फ्रान्समा १९ डिसेम्बरमा बेलायतबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले बेलायतसँग सीमा बन्द गरेको छ । तर परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवारबाट युरोपेली संघका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो । प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन बेलायतको केन्टमा बिताएका थिए । यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो ।
युरोपमा खोपको क्रम सुरु यसैबीच कैयौं युरोपेली देशहरूले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन् । त्यस्तो काम आइतवारबाट पूरै युरोपेली संघमा समन्वयात्मक ढङ्गले सुरु गर्नु अगावै गरिएको हो । जर्मन अधिकारीहरूले आफूहरू थप एक दिन पर्खन सक्ने अवस्थामा नभएको भन्दै ज्येष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो । हजारौँ बेलायती पर्यटक छुट्टिमा स्किइङ् गर्न स्विजरल्याण्ड पुगेका छन् । हङ्गेरीको सरकारी समाचार संस्थाले त्यहाँ पहिलो खोप पाउने व्यक्ति एकजना चिकित्सक भएको जनाएको छ । स्लोभाकियाले समेत खोप दिने काम सुरु गरेको जनाएको छ । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप वितरण गर्ने कार्यप्रति खुसी मनाउँदै त्यसलाई आफूहरूको ‘एकताको मार्मिक क्षण’ बताएकी छन् । वैज्ञानिकहरूले बेलायतको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला उक्त देशमा देखिएको हुनसक्ने बताउँछन् । विज्ञहरू भन्छन्, ‘उक्त नयाँ प्रकार यसअघिको भन्दा धेरै सङक्रामक भए तापनि त्यो सङक्रमितका लागि थप खतरनाक नै हुन्छ भन्ने चाहीँ छैन ।
नयाँ प्रकारप्रति किन धेरै चासो ? नयाँ प्रकारको कोरोना भाइरस सुरुमा सेप्टेम्बरमा इङ्गल्यान्डमा देखा परेको थियो । केही सातायता लन्डन, पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ । स्पेनमा कम्तिमा सातजनामा भाइरसको नयाँ प्रकार देखिएको बताइएको छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन् ।
– यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । – यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ । – प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।
यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको बीबीसीले उल्लेख गरेको छ । यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन । विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्ध पनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन् ।–बीबीसी