सोसल मिडिया
Contact Us
युनिकोड
सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरू आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समेट्नुपर्ने विषयवस्तु र आवश्यकताबारे सोधखोज गर्न नागरिकका घर–घर पुगेका छन् । आर्थिक वर्ष २०८२/२०८३ को बजेट र नीति तथा कार्यक्रमलाई सहभागितामूलक र समावेशी बनाउन जनप्रतिनिधिहरू घर–घर पुगेका हुन् । नगरपालिकाले असारको ४–५ गते नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ । शारदा नगरपालिकामा १५ वटा वडा छन् । नगर प्रमुख प्रकाश भण्डारीले जनमुखी बजेट तथा नीति कार्यक्रम बनाउन वडाको प्रत्येक घरमा पुगेको बताए । उनले भने, ‘घर घर पुग्दा आवश्यकताको पहिचान प्रत्यक्ष रुपमा हुने भयाे, अर्को कुरा याे वस्तुस्थिति बुझ्ने महत्वपूर्ण अवसर समेत हो ।’ नगर प्रमुख भण्डारीले चोक, चौतारा जहाँ भटेपनि आवश्यकताबारे सोधखोज गरेको बताए । उनले भने, ‘हाम्रा नागरिकको अपेक्षा धेरै छन्, ती अपेक्षा आधारभूत आवश्यकता अन्तर्गतका हुन्, हाम्रो बजेटको आकारले ती आवश्यकतालाई सम्बोधन गर्न सक्दैन, तर पनि हामी ती योजनालाई बहुवर्षीय योजनामा राखेर काम अघि बढाउँछौ ।’ नगरपालिकाले ठूला योजनाको लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर काम गर्ने गरी प्रक्रिया अघि बढाएकाे नगर प्रमुखको भनाई छ । पाहाडी जिल्लाको नगरपालिका भएकाले सडक पूर्वाधारको माग धेरै रहेको छ । सिँचाई, कुलोकाे माग गर्नेको संख्या पनि उल्लेख्य छ । बिजुलीको खम्बा, सार्वजनिक भवन निर्माण र पुननिर्माणको माग गर्दै जनप्रतिनिधिसँग अनुनय विनय गर्ने पनि त्यति नै छन् । ‘नगरपालिकाको बजेटबाट मात्रै उहाँहरुको आवश्यकता पूर्ति गर्ने विषयलाई कल्पना समेत गर्न सकिँदैन । गएको आर्थिक वर्षमा प्राकृतिक विपद्ले पालिकामा धेरै क्षति भएको छ । ती विषयलाई कहाँबाट र कसरी सम्बोधन गर्ने नगरपालिकाले ठोस योजना बनाउन सकेको छैन' उनले भने । विपद् व्यवस्थापनका लागि गर्नुपर्ने पूर्व तयारी, विपद्का बेला र विपद्पछिको राहत र पुनस्र्थापनालाई बजेटले कसरी समेट्ने भन्ने विषयमा ठोस योजना बनाउन नसकेको नगर प्रमुख भण्डारीले चिन्ता व्यक्त गरे । नगरपालिकाले आर्थिक वर्ष २०८२ /२०८३ का लागि झण्डै १२ करोड भन्दा बढी बजेट नगरसभामा प्रस्तुत गर्दैछ ।