सोसल मिडिया
Contact Us
युनिकोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताए। राससले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रिकीकरणको बाटोमा ठिक ढंगबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे। पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टिकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, ‘हाम्रो पार्टीभित्र लोकतान्त्रिकीकरणको अगुवाइ गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउने कामको नेतृत्वदायी भूमिका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो, विगतमा उहाँकै विचारबाट निर्देशित भइ अगाडि बढ्ने सिलसिलामा पार्टीभित्र लोकतान्त्रिकीकरणको अभ्यास चलेको हो।’ सोही मान्यतालाई अघि बढाउने सिलसिलामा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेरहदका विषय ल्याइएको उनको भनाइ छ। पार्टीको नवौँ र दशौँ महाधिवेशन तथा यसअघिका विधान महाधिवेशनमा पनि छलफल भएको विषय भएको उल्लेख गर्दै उनले यसबीचमा एमालेबाटै विभाजित भएर समाजवादीमा जानुभएका साथीहरु फर्कन उमेर हदको सीमाले केही व्यवहारिक अप्ठ्यारो भएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो। आउने महाधिवेशनले के निर्णय गर्छ। अनि मात्र स्थापित र निर्णित विषयलाई पनि लिएर जान सकिन्छ। महाधिवेशनले गरेका ‘लेजिटिमेसी’को विषयको आगामी महाधिवशेन नआइ उठाउन सान्दर्भिक हुन्न, यो हामी सबैले बुझेकै विषय हो।’