लागु औषध कारोबारी समात्दा घाइते भएका सुरक्षाकर्मीलाई प्रहरी अस्पताल लगियो

मंगलबार, जेठ २७, २०८२

काठमाडौं । लागु औषध कारोबारीलाई समात्ने क्रममा घाइते भएका दुई प्रहरीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ । घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरूमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ छन् । उनीहरुलाई पनि चोट लागेको बताइएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरु भारतीय नागरिक रहेको ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले बताए । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको बताए । ‘चार जना नियन्त्रणमा छन् । भारतीय नागरिक भन्ने बुझिएको छ । कार्यालयमा ल्याइनसकेकाले थप विवरण बताउन सक्ने अवस्था छैन’ एसएसपी कोइरालाले भने ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार