सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडाका स्थानीयवासीले वडाका जनप्रतिनिधिलाई धापाखेलको मुहार मानिने मूल सडक स्तरोन्नतिको कार्य सम्पन्न गर्न तथा खानेपानी व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट खर्च गर्न सुझाव दिएका छन् । वडाअध्यक्ष दिनेश जंग पाण्डेको अगुवाई तथा वडासदस्यहरू इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जनको उपस्थितिमा वडाका बुद्धिजीवि, पार्टी प्रतिनिधि, नेपाल सरकारका पूर्वविशिष्ट कर्मचारी, उद्यमी, समाजसेवी, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, प्रत्येक युवा क्लबका प्रतिनिधि, स्कुलका प्रतिनिधि, गुठीका प्रतिनिधि तथा टोलका अगुवासँग गरेको सुझाव संकलन कार्यक्रममा वडाका जनप्रतिनिधिलाई बजेटका प्राथमिकताबारे सुझाव दिँदा मूल सडक र खानेपानी व्यवस्थापनको विषय प्राथमिकता साथ उठेको हो । टुक्रे योजना भन्दा पनि चालु आर्थिक वर्षमा सुरु गरिएको धापाखेलको मूल सडक स्तरोन्नति कार्य सम्पन्न गर्न तथा वडा भित्रका सकै टोलमा सहज तरिकाले खानेपानीको व्यवस्थापन गर्न सरोकारवालाले जोड दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तथा योजनामा सरोकारवालाको सुझाव लिन वडाअध्यक्ष पाण्डेको अगुवाईमा वडा कार्यालय भवन तीनकुने पोखरीमा दुई दिनसम्म सुझाव संकलन गरिएको थियो । वडा कार्यालयले बजेट तथा योजना छनोटका लागि सरोकारवालाहरूलाई आमन्त्रण गरी सुझाव लिएको यो पहिलो पटक हो । सुझाव संकलन कार्यक्रममा सरोकारवालाहरूले धापाखेलको सान नागदहलाई धार्मिक पर्यटकीय स्थलका रुपमा रुपान्तरण गर्न अल्पाकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्न, डोलस्थित खेल मैदानलाई सुविधायुक्तसहित निर्माण गर्न, कर्मनाशा तथा महादेव खोलामा करिडोर निर्माण गर्न, कृषि उद्यमलाई प्राथिमकता दिएर अघि बढ्न सुझाव दिएका छन् । विपद् प्रभावित क्षेत्रमा विपद् व्यवस्थापनको कार्य तीब्र गतिमा सुरु गर्न, वडालाई क्षेत्रगत रुपमा विभाजन गरी सार्वजनिक शौचालय निर्माण गर्न तथा पुस्तकालय स्थापना गर्न, सार्वजनिक यातयातका साधानलाई यात्रु मैत्री बनाउँदै रिङ्रोडको अवधारणबाट सञ्चालनको अनुमति प्रदान गर्न पनि वडाका जनप्रतिनिधिहरूलाई सरोकारवालाले सुझाव दिएका छन् ।
पर्याप्त मात्रामा सिसि क्यामेराको व्यवस्थापन गरी शान्ति सुरक्षा कायम गर्न, स्थानीय स्तरमा उत्पादित तरकारी बिक्रीका लागि बिक्री स्थलको व्यवस्थापन गर्न पनि जनप्रतिनिधिहरूलाई सुझाव दिइएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै स्थानीय अभिभावकका छोराछोरी पढ्ने वातावरण बनाउन पनि सुझाव दिइएको छ । धापाखेलमा सिटिइभिटिका कार्यक्रम ल्याउनेतर्फ पनि ध्यान दिन जनप्रतिनिधिलाई सुझाव आएको छ । धापाखेल स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सक व्यवस्थापन गरी ल्याब स्थापना गर्न पनि सरोकारवालाले सुझवा दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले वडाका जनप्रतिनिधिहरूले निर्वाचित भएर आएपछिको तीन वर्षमा गरेका कार्यको प्रशंसा गर्दै मुल सडक स्तरोन्नति कार्य सम्पन्न गर्न आफ्नो पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपानी काँग्रेस धापाखेल वडा इकाई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धापाखेलका अध्यक्षले वडाअध्यक्ष पाण्डेलाई लिखित सुझाव दिएका थिए भने नेकपा एमालेका वडाकमिटिका अध्यक्षले केही टोलमा भेटघाट बाँकी रहेको भन्दै भेटघाट सम्पन्न भएपछि पार्टीकातर्फबाट लिखित सुझाव दिने बताएका थिए । नेकपा माओवादी केन्द्रका वडा कमिटिका अध्यक्षले पनि जनप्रतिनिधिले हालसम्म गरेका कार्यबाट आफू सन्तुष्ट रहेको जनाउँदै आगामी कार्यमा पनि हातेमालो गर्ने प्रतिवद्धता जनाएका थिए । सरोकारवालाको सुझाव लिएपछि वडाअध्यक्ष दिनेश जंग पाण्डेले सबैको चासोमा धापाखेलको मूल सडकको काम छिटो सम्पन्न गर्ने विषय परेकाले वडाले पनि सोही अनुसार कार्यक्रम तथा योजना अघि बढाउने बताउनुभयो ।