सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् । आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सदन सधैं यसरी गैरजिम्मेवार हुनु भन्दा पनि जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको छ । तर अब केही सकारात्मक कुराहरु भएका छन् त्यसैले भोलि २ बजे संसद बैठक बस्नेछ र चल्ने छ भन्नेमा हामी पनि आशावादी छौं । सदन सधैं यस्तो भएर हुँदैन । जिम्मेवार हुनुपर्छ भनेर सभामुखसँग भनेका छौं ।’ यसैगरी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन चलाउन सत्तापक्ष र प्रतिपक्षबीच वार्ता भैइरहेको बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउनुपर्ने बताए । उनले भने, ‘छलफल जारी नै छ । सहमति केही भएको छैन । सत्तापक्ष र प्रतिपक्षबीच वार्ता भैइरहेको छ । सुशासनसँग केन्द्रित रहेर छानविन समिति बनाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । प्रतिपक्ष दलका नेता दिनमा पनि आएर समग्र समस्याको हल कसरी गर्ने भन्ने बारे राजनीतिक दलका नेतासँग कुरा भैइरहेको छ ।’ यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन चलाउन समझदारीको नजिक पुगेको बताए । उनले १३ गतेदेखि अवरुद्ध भइरहेको छ यस्तो गर्न हुँदैन भनेर दिनभर विपक्षी दलसँग अपिल गरे पनि सहमति हुन नसकेको बताए । उनले भने, ‘हामी समझदारीको नजिक नजिक पुगेका छौं । १३ गतेदेखि अवरुद्ध भैरहेको छ यस्तो गर्न हुँदैन भनेर । दिनभर विपक्षी दलसँग अपिल गरेका थियौँ तर सहमति हुन सकेन । भोलि १२ बजे उनीहरुको बैठक हुने छ अनि सांसद बैठक भोलिबाट सुरु हुनेछ । भोलि गृहमन्त्रीले जवाफ दिनुहुनेछ । अख्तियार अनुसन्धान आयोगले गरेको छानबिन निष्कर्शमा पुगेको पनि छैन । त्यसैले त्यसबारे कुनै समिति बन्ने छैन । एउटा छलफलका माध्यमबाट सहमतिमा अगाडी बढ्नुपर्छ । हिजो संसद उनीहरुकै कारणले बन्द भयो र अब भोलि उनीहरुकै कारण खुल्ने छ ।’ भिजिट भिसाको विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समितिमध्ये एक माग पूरा नभएसम्म संसद्को अवरोध हट्न नसक्ने अडान विपक्षी दलहरुले लिँदै आएका छन् ।